धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना

भाद्र ६, २०७७ | काभ्रे

बागमती प्रदेश सरकारले काभ्रेको धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना गरेको छ । कोरोना भाइरस लगायत अन्य रोगको परीक्षण र पहिचान गर्न प्रदेश सरकारले धुलिखेलमा प्रयोगशाला स्थापना गरेको हो । 

२४ घण्टा नै सेवा दिने प्रयोगशालाले एक दिनमा १ हजार स्वाब परीक्षण गर्न सक्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र झाका अनुसार, रिफरेन्स र मोलिकुलर सो प्रयोगशाला इन्फ्लुएन्जा, मलेरिया, डेङगु समेत परीक्षण हुनेछ । 

प्रयोगशालामा स्थायी र करार गरी २२ जनशक्ति कार्यरत छन् । प्रदेशका १३ वटै जिल्लाका लागि प्रयोगशालाले सेवा दिने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । 

पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका स्वाबहरु परीक्षण हुनेछन् । प्रदेश सरकारले सिन्धुली र भक्तपुरमा पनि कोरोना परीक्षणको लागि प्रयोगशाला निर्माण गर्न लागेको मन्त्री दुलालले जानकारी दिनुभयो । 

संघीय सरकारले धुलिखेल अस्पताललाई कोभिड प्रयोशालाको रुपमा प्रयोग गरेको छ । जिल्लामा रहेका दुवै प्रयोगशालाका कारण जनता छिटो सेवा पाउने र समयमा नै रोग पहिचान हुने विश्वास उहाँको छ । 

प्रयोगशाला सञ्चलानको लागि धुलिखेल नगरपालिकाले चार वर्षको लागि भवन उपलब्ध गराएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले प्रयोगशाला सञ्चालनको लागि नगरले थप सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो । 


प्रतिक्रिया