लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड आकस्मिक शल्यक्रिया कक्ष सञ्चालन

भाद्र ८, २०७७ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड संक्रमित आकस्मिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । 

कोरोना संक्रमित बिरामीलाई आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्थामा अन्यत्र पुर्‍याउँदा सम्म हुने जोखिमलाई ध्यानमा राख्दै यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताउनुभयो ।

 ‘यहाँआएका बिरामी अर्को ठाउँसम्म पुर्‍याउन सक्ने अवस्था नभएको खण्डमा मात्रै आकस्मिक कक्षको प्रयोग हुनेछ, उहाँले भन्नुभयो, ‘यो सेवा नितान्त अस्पतालले आन्तरिक छलफल र श्रोतबाट सुरु गरेको हो ।’ 

आकस्मिक शल्यक्रिया कक्ष सञ्चालनका लागि सरकारी निकायबाट कुनै व्यवस्था नभएको भन्दै उहाँले अस्पतालमै रहेका जनशक्तिलाई पालैपालो शल्यक्रिया कक्षमा समेत खटाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारी फैलिएको समयमा काममा खटिएका स्वास्थ्यकर्मी आफै पनि समस्यामा पर्ने जोखिम र बिरामीलाई सेवा दिनुपर्छ भन्ने उद्देश्य अस्पतालको रहेकाले आफ्ना कर्मचारीलाई स्वास्थ्य सुरक्षा सहित काममा खटाइरहेको र शल्यक्रिया कक्षमा समेत सोही ढंगले खटाउने उहाँको भनाई छ । 

यसअघि अस्पतालमा छुट्टै कक्ष नहुँदा बुटवलकी एक संक्रमित गर्भवतीले नेपालगञ्ज पुगेर शल्यक्रिया मार्फत बच्चा जन्माएकी थिइन् ।


प्रतिक्रिया