खत्याड प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव

भाद्र ९, २०७७ | मुगु

मुगुको खत्याड गाउँपालिका रातापानी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राय औषधि नजाने र गाउँपालिकाले खरिद गरी उपलब्ध गराएको औषधि पर्याप्त नहुँदा उपचारका लागि आएका बिरामीलाई समस्यामा परेका हुन् । 

स्वास्थ्य केन्द्रमा औषधि सकिंदा बिरामीलाई उपचार गर्न समस्या हुन थालेको स्वास्थ्य केन्द्रका डाक्टर किशोर खडकाले बताउनुभयो । स्वास्थ्य केन्द्रमा औषधि सकिएपछि गाउँपालिकालाई गुहार्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । 

झाडापखाला, आउँ, पेट दुख्ने समान्य ज्वरो आउने जस्ता रोगका बिरामीहरु उपचारका लागि आउने गरेको भन्दै औषधि अभावमा खाली हात फर्किने गरेका छन् । 

रिघा, सुकाढिक, आम, रातापानी, कोटडाँडा, डामलेख लगायत बस्तीका स्थानीयको सस्तो र सुलभ तरिकाबाट औषधि उपचार गर्नको लागि स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा जहिले पनि औषधि अभाव भइरहने चिकित्सकको भनाई छ । 

जिल्ला अस्पताल ठिनीमा पनि औषधि अभाव हुन थालेको छ । सडक मार्ग अवरुद्ध हुँदा औषधि ढुवानी गर्न कठिनाई भएको र हवाई मार्गबाट ल्याएको औषधिको मौज्दात पनि सकिंदै गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।  


प्रतिक्रिया