मनाङ जिल्ला अस्पताल सिल

मनाङको चामेस्थित मनाङ जिल्ला अस्पताल । तस्बिर: रेडियो कान्तिपुर । 

भाद्र ९, २०७७ | लमजुङ

स्वास्थ्यका कर्मचारीमा कोरोना देखिएपछि मनाङ जिल्ला अस्पताल सिल गरिएको छ । चामेस्थित जिल्ला अस्पताल हाताभित्रको स्वास्थ्य कार्यालयका एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताललाई सिल गरिएको हो । 

अस्पतालका मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारीले मंगलबार एक सूचना जारी गरी इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो । पोखरास्थित प्रदेश क्षयरोग केन्द्रको प्रयोगशालामा स्वाब परीक्षण गर्ने क्रममा स्वास्थ्य कार्यालय मनाङका एक कर्मचारीमा कोभिड–१९ पुष्टि भएको थियो । 

उनको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि अस्पताल सिल गरिएको डा. अधिकारीले जानकारी दिनुभयो । अस्पतालबाट प्रवाह हुने इमर्जेन्सी बाहेक सबै सेवा स्थगित गरेको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार ४ दिनअघि मनाङमा २ जना शिक्षकमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङमा ३४ जनाको स्वाब परीक्षण गरी पोखरा पठाएकोमा २ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । 

पुष्टि भएकामा १ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एकजना माथिल्लो मनाङका शिक्षक रहेको उहाँले बताउनुभयो । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा चामे गाउँपालिका ४ का ४९ वर्षीय पुरुष र मनाङ ङिस्याङ गाउँपालिका १ मा बस्ने ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमण पुष्टि भएका कर्मचारी स्वास्थ्य कार्यालयमा आइसोलेशनमा बसेको र शिक्षक स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेशनमा बसेको प्रमुख जिल्ला अधिकारी गिरीले जानकारी दिनुभयो ।


प्रतिक्रिया