७८ वर्षीय वृद्धको शल्यक्रियापछि पीसीआर रिपोर्ट पोजेटिभ

भाद्र १५, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी विभागका चिकित्सहरुले मोरङका एक जना कोरोना भाइरस संक्रमितको सफल शल्यक्रिया गरेका छन् । शल्यक्रियाका क्रममा पीसीआर परीक्षणका लागि संकलित स्वाबको रिपोर्ट पनि कोरोना पोजेटिभ नै आएको छ । अप्रेशन थिएटरमा चार घण्टा बढी समय लगाएर बिरामीको शल्यक्रियामा संलग्न चिकित्सक, नर्सहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रोटेस्ट ग्रन्थी (क्यान्सरको सम्भावित चरण) को समस्याबाट पीडित मोरङका ७८ वर्षीय ती वृद्धलाई थप उपचारका लागि प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको प्रारम्भिक जाँच गर्दा मुत्र थैलीमा रगत जमेको थियो । सात घण्टादेखि पिसाब फेर्न नसकेर सिकिस्त अवस्थामा भदौ ९ गते उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । 

कोरोना महामारी फैलिएपछि पछिल्लो समयमा बिरामीको उपचार वा शल्यक्रिया गर्नु परे सबैभन्दा पहिले कोरोना संक्रमण भए/नभएको पहिचान गर्न पीसीआर परीक्षण गरिन्छ । नेगेटिभ रिपोर्ट आए तत्काल थप उपचार गरिन्छ भने, पोजेटिभ आए कोभिड अस्पताल पठाउने गरिएको छ । 

तर, ती वृद्धको पीसीआर परीक्षणको रिपोर्ट पर्खिने अवस्था नभएपछि प्रतिष्ठानका युरोलोजी युनिटका विषेशज्ञ चिकित्सक डा.सुधिर सिंह सहितको टीमले अप्रेसन गरी ती संक्रमितको वृद्धको ज्यान बचाएका छन् । कोडिभ–१९ को महामारीको बेला पीसीआर रिपोर्ट पर्खने कि बिरामीको ज्यान पहिला जोगाउने भन्ने जटिल प्रश्नलाई चिर्दै प्रतिष्ठानको युरोलोजी युनिटले सफल शल्यक्रिया गरेका छन् ।

डा सिंहले भन्नुभयो, ‘कोरोना संक्रमणको डर त छँदै थियो । तर, वृद्ध बिरामीलाई त्यो भन्दा ठूलो पीडा मुत्र थैलीमा जमेको रगतले दिएको थियो । हामीसँग तत्काल रिपोर्ट निकाल्ने पोइन्ट अफ केयर प्रविधि नभएकाले प्रतिष्ठानमा भएको पीसीआर रिपोर्ट पर्खदा कम्तिमा १० घण्टा लाग्ने भएकाले तत्काल शल्यक्रिया गरिएको हो ।’

शल्यक्रियापछि ती वृद्धको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएपनि कुनै लक्षण भने नदेखिएको उहाँले बताउनुभयो । लक्षण नभएपनि चिकित्सहरुले सावधानी अपनाएर नै शल्यक्रिया गरेको डा. सिंहले बताउनुभयो । बारम्बार रगत जमेर पिसाब फेर्न समस्या भएका ती वृद्धको यसअघि विराटनगरको एक अस्पताल पनि मुत्र थैलीकै शल्य गरिएको थियो । तर, त्यहाँको उपचारमा पनि सुधार नभएपछि उनी प्रतिष्ठानमा आएका थिए ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा डा.निदेश सापकोटाका अनुसार शल्यक्रियप पछि रिपोर्ट पनि कोरोना पोजेटिभ देखिएकाले उनलाई कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो । शल्यक्रिया गएिकाले होम आइशोलेसनमा बस्ने गरी उनलाई कोभिड अस्पतालबाट सोमबार बिहान डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया