अस्पतालको अन्तरंग कक्षमा आइसोलेसन

लमजुङ जिल्ला सामुदायिक अस्पतालले पछिल्लो समय व्यवस्थापन गरेको अन्तरंग विभाग । तस्बिर: रेडियो कान्तिपुर । 

भाद्र २५, २०७७ | लमजुङ

कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको अन्तरंग कक्ष (बिरामी वार्ड) लाई आइसोलेसन बनाएको छ । बिरामी राख्ने वार्डलाई आइसोलेसन बनाइएपछि कोरोना संक्रमित बिरामी राख्न थालिएको छ । 

अन्तरंग वार्डमा उपचार गराइरहेका केही बिरामी कोरोना संक्रमित भएकोमा उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमित अस्पतालका कर्मचारीलाई पनि सो आइसोलेशनमै राखिएको छ ।

बिरामी राख्न निर्माण गरिएको ६० बेड भन्दा बढी क्षमताको अस्पतालको अन्तरंग विभागमा कोरोना संक्रमित राख्न थालिएको हो । अन्तरंग कक्षमा कोरोना संक्रमित राख्न थालिएपछि अन्य बिरामीका लागि अस्पतालले १२ बेडको अस्थायी अन्तरंग कक्ष बनाएको छ । 

यसअघि बिरामी जाँच्ने गरिएको बहिरंग विभाग (ओपीडी) कक्षमा अहिले अन्तरंग कक्ष बनाएको छ । कोरोना संक्रमित राख्ने कक्षभन्दा छुट्टै सुरक्षित तरिकाले अस्पतालमा आउने अन्य रोगका बिरामी राख्ने व्यवस्था मिलाएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टिकट काउण्टर र स्वास्थ्य जाँच हुने कोठामा बिरामी राख्ने बेड राखिएको छ ।

श्रेष्ठका अनुसार शल्यक्रिया गरेका व्यक्ति राख्नको लागि ४ वटा बेड तयार पारिएको छ । ८ वडा बेड भर्ना भएर बस्नेका लागि निर्माण गरिएको उहाँले बताउनुभयो । अस्पतालमा उपचार तथा भर्ना भएका बिरामीलाई सहज सुविधाको लागि नयाँ कक्षको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

यसअघिको अन्तरंग कक्षमा ८ जना कोरोना संक्रमित छन् । अहिले १५ बेड राखिएकोमा कोरोना संक्रमितको संख्यालाई हेरेर थप गर्न सकिने उहाँले बताउनुभयो । अन्य संक्रमित अस्पतालको आकस्मिक भवनमा छन् । 

अस्पतालको आइसोलेसनमा मात्रै ५० जना बढी कोरोना संक्रमित छन् । अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेपनि अहिले निर्माण गरिएको अन्तरंग विभाग छुट्टै रहेको र अन्य बिरामीका लागि सुरक्षित तवरले व्यवस्थापन गरिएको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार अस्पतालले आकस्मिक सेवा, सल्यक्रिया साथै सबै सेवाहरु दिइरहेको छ । कोरोना संक्रमितको उपचार छुट्टै भवनमा भइरहेकाले जुनसुकै बिरामीलाई पनि ढुक्क भएर सेवा लिन आउन सक्ने अस्पतालले जनाएको छ ।


प्रतिक्रिया