खोटाङको दिप्रुङ चुइचुम्मामा कोभिड अस्पताल सञ्चालन हुँदै

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सञ्चालन गर्न लागेको अस्थायी कोभिड १९ अस्पताल रहने उक्त पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकी भवन । तस्बिर सौजन्य : दिप्रुङ चुइचुम्मा गाउँपालिका । 

आश्विन १, २०७७ | खोटाङ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले वडा नम्बर–१ स्थित याम्खा स्वास्थ्य चौकी भवनमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने भएको हो । 

कोरोना भाइरस संक्रमणको प्रकोप बढ्दै गएकाले यसको जोखिमलाई ध्यानमा राखेर कोरोना अस्पताल सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । 

संघीय सरकारको दश लाख र गाउँपालिकाको ३५ लाख रुपैयाँको लागतमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ‘कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकोले यसलाई ध्यानमा राखेर कोरोना अस्पताल बनाउन लागिएको हो, ‘अध्यक्ष राईले भन्नुभयो, ‘अब छिट्टै नै सञ्चालनमा आउने छ ।’

अध्यक्ष राईका अनुसार अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी हुनेछन् । अस्पतालमा चाहिने आवश्यक जनशक्तिका लागि सूचना जारी गरिसकेको अध्यक्ष राईले बताउनुभयो । 

यो अस्पताल बनेपछि कोरोना संक्रमितलाई अन्यत्र लान नपर्ने राईको दाबी छ । ‘आवश्यक जनशक्तिका लागि सूचना पनि जारी गरिसकिएको छ, ‘राईले भन्नुभयो, ‘जनशक्तिको व्यवस्था हुनासाथ अस्पताल सञ्चालनमा आउने छ ।’


प्रतिक्रिया