गौर अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना

आश्विन ३, २०७७ | रौतहट

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभए परीक्षणका लागि रौतहटको गौर अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना गरिएको छ । अस्पतालले शनिबारबाट स्वाबको नमूना परीक्षण सुरु गरेको छ । गौर अस्पतालमा प्रयोगशाला स्थापना भएसँगै स्वाब परीक्षणका लागि बाहिरी जिल्ला पठाउनु पर्ने झन्झट हटेको छ । 

प्रदेश २ सरकार र रौतहटका स्थानीय तहको सहयोगमा जिल्ला अस्पताल गौरमा पीसीआर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको हो । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले शुक्रबार साँझ प्रयोगशालाको उद्घाटन गर्नुभयो । 

कोरोनाको हटस्पटको रुपमा चिनिएको जिल्लामा पीसीआर प्रयोगशाला स्थापना भएपछि परीक्षण छिटो हुने र संक्रमण पत्ता लागेपछि समयमै उनीहरुको व्यवस्थापन गर्न सहज हुने मन्त्री साहले बताउनुभयो । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने जनशक्ति प्रदेश र केन्द्र सरकारले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । प्रयोगशाला स्थापनाको लागि प्रदेश सरकारले पीसीआर मेसिन लगायत मेसिनरी पार्टसहरु उपलब्ध गराएको छ । 

गौर अस्पतालले भौतिक संरचना लगायत व्यवस्थापन गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. कृष्ण साहले बताउनुभयो । ‘स्थानीय तहबाट प्राप्त ६५ लाख अहिले खातामै छ । त्यो रकम खर्च भएको छैन्, ’उहाँले भन्नुभयो, ‘ल्याबको लागि तयार गरिएको संरचनामा उक्त रकम खर्च गर्छौं । अहिले उधारोमा काम सकेका छौ ।’ 

डा. साहले कन्ट्रयाक ट्रेसिङ र आईसोलेसनमा बसेकाहरुको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको जानकारी दिनुभयो । प्रयोगशालामा ३६ देखि ७२ वटासम्म स्वाबको नमूनाको परीक्षण गर्ने क्षमता रहेको छ । प्रयोगशाला अहिले प्रदेश र जिल्लाका प्राविधिकहरु खटेका छन् । 

पीसीआर प्रयोगशालाका लागि जिल्लाका १८ वटै स्थानीय तहका प्रमुखहरुले ५ लाखका रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेपनि हालसम्म १३ वटाले मात्रै रकम उपलब्ध गराएका छन् । प्रजिअ यादवले जिल्लामै भेन्टिलेटर र आइसीयू वार्डका पहल भइरहेको जानकारी दिनुभयो । 

जिल्लामै प्रयोगशाला स्थापना भएपछि स्वाब बोकेर बाहिर जानुपर्ने झन्झटबाट मुक्त भएको गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले बताउनुभयो । हाल प्रदेश २ को जनकपुर, राजविराज र वीगञ्ज पीसीआर परीक्षण हुँदै आएको छ । 


प्रतिक्रिया