१ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७४ | काठमाडौं

पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गत १ सय ६५ सिट मध्ये हालसम्म १ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ ।

प्रतिनिधिसभा अन्तर्गत अब प्रदेश नम्बर १ अन्तर्गतको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मात्रै अन्तिम नतिजा आउन बाँकी छ । घोषित परिणाम अनुसार बाम गठबन्धनले दुई तिहाई मत प्राप्त गरेका छन् । गठबन्धनले हालसम्म १ सय १६ सिटमा आफ्नो झण्डा गाडेका छन् । समग्रमा एमालेले ८० माओवादी केन्द्र ३६, काँग्रेस २२ र अन्य दल तथा स्वतन्त्र उम्मेद्वार २६ सिटमा विजयी भएका छन् ।

प्रदेशसभा अन्तर्गतका ३ सय ३० सिट मध्ये ३ सय २८ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश सभामा पनि बाम गठबन्धनले दुई तिहाई पुर्‍याएका छन् । घोषित परिणाम अनुसार बाम गठबन्धनले २ सय ३९ स्थानमा जित हात पारेका छन् । प्रदेशसभामा पनि एमालेले फराकिलो अग्रता हात पारेको छ ।

उसले हालसम्म १ सय ६६ प्रदेश सभामा विजय हासिल गरेको छ । माओवादी केन्द्र ७३ र नेपाली काँग्रेस ४४ स्थानमा विजयी भएका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले प्रदेश सभाका ४५ स्थान कब्जा गरेका छन् । 

 


प्रतिक्रिया