मोरङमा १ सय २८ जनाको जमानत जफत

रेडियो कान्तिपुर संवाददाता

मंसिर २८, २०७४ | मोरङ

 - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धी बनेकामध्ये मोरङमा १ सय २८ जनाको जमानत जफत भएको छ । दुबै सभाका लागि उम्मेदवारी दिएका कुल संख्यामध्ये निर्वाचन ऐनमा उल्लेख भएअनुसार सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारहरुको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा बिजय प्राप्त गरेका प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १२ सहित अन्य ४१ जनाले भने १० प्रतिशत मत प्राप्त गरेका छन् । ६ लाख ४४ हजार ७ सय ८५ मतदाता रहेको मोरङ देशभरमै सबैभन्दा बढी मतदाता भएको जिल्ला हो ।

६ स्थानमध्ये मोरङबाट एमालेका तीन, माओवादीका दुई र कांग्रेसका एकजना प्रतिनिधिसभा सदस्य चुनिएका छन् । यस्तै प्रदेशसभामा एमालेबाट ५, कांग्रेसबाट ४, माओवादीबाट २ र संघीय समाजवादी फोरमका एकजना विजयी बनेका छन् । प्रतिनिधिसभा र प्रदेशसमामा गरी मोरङमा १ सय ६९ जनाले उम्मेदवारी दिएका थिए ।

 

 


प्रतिक्रिया