प्रदेश ५ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न

माघ ९, २०७६ | दाङ

प्रदेश ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा विहान १० बजेदेखि शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको हो । 

अहिले मतगणना तयारीका जिल्ला समन्वय समितिको हलमा सर्वदलिय बैठक बसिरहेको छ । मतगणना सकेर आज बेलुकासम्म परिणाम सार्वजनिक गर्ने तयारी भैरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।

निर्वाचनमा प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको छ । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव मात्रै मतदानमा सहभागी हुनुभएन । 

संघीय समाजवादी फोरमबाट निर्वाचित श्रीवास्तव आफन्त बिरामी भएर उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुन नसक्नुभएको हो । यसैगरी प्रदेशसभा सदस्यहरु ८६ जनाले मतदान गरेका छन् । 

८७ मध्ये काँग्रेसका बलदेव शर्माको हालै निधन भएको थियो । प्रदेश ५ का लागि दुई मतदान केन्द्र तोकिएको थियो । एउटामा स्थानीय तह प्रमुख, उपप्रमुख तथा अर्कोमा प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । 

प्रदेश ५ बाट तीन पदका लागि नौ जनाको उम्मेदवारी परेका छ । नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराइले उम्मेदवारी दर्ता गरेका छन् । 

नेपाली काँग्रेसबाट महिलातर्फ गिरिजादेवी न्यौपाने, अपांग तथा अल्पसंख्यकमा मेराज अहमद हलवाई र अन्यबाट बालकृष्ण पाण्डेले उम्मेद्वारी दिएका छन् ।

समाजवादीबाट अल्पसंख्यकमा सुनिलकुमार सिंघल र अन्यमा कृष्णप्रसाद अहिरले उम्मेद्वारी दिएका छन् । यसैगरी राजमोबाट अन्यमा शिवप्रसाद पौडेलले दिएका छन् । 


प्रतिक्रिया