प्रदेश ५ बाट राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी

माघ ९, २०७६ | दाङ

प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । आज बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ विमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । 

अपांग/अल्पसंख्यक कोटाबाट शर्मा ५४२४ मतभार सहित विजयी हुनुभयो । शर्माका प्रतिद्वन्दी नेपाली कांग्रेसका मेराज अहमद हलवाई १९८६ मतभार प्राप्त गरेर पराजित भएका छन् । 

समाजवादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन् । महिलातर्फ घिमिरे ५७७८ मतभार ल्याएर विजयी हुनुभयो । काँग्रेसकी गिरिजादेबी न्यौपाने २१०० मतभारसहित पराजित हुनुभयो । 

 अन्य समूहका भट्टराई ५३८२ मत ल्याएर विजयी हुनुभयो । काँग्रेसका बालकृष्ण पाण्डे २०५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका कृष्णप्रसाद यादवले ४४४ र राष्ट्रिय जनमोर्चाका शिव पौडेलले १५६ मतभार प्राप्त गर्नुभयो । प्रदेश ५ बाट तीन पदका लागि नौ जनाको उम्मेदवारी परेको थियो । 

प्रदेश ५ मा ८ हजार १ सय मतभार थियो । निर्वाचनमा ३ सय ३ मत खसेको थियो । प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको थियो । 

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव मात्रै मतदानमा सहभागी भएनन् । संघीय समाजवादी फोरमबाट निर्वाचित श्रीवास्तव आफन्त बिरामी भएर उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुनु भएन । 

यसैगरी प्रदेशसभा सदस्यहरु ८६ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य ८७ मध्ये बलदेव शर्माको हालै निधन भएको थियो ।


प्रतिक्रिया