१२औं सागमा नेपाललाई आज १ रजत र २ काश्य

रेडियो कान्तिपुर संवाददाता

माघ २३, २०७२

माघ २३, एजेन्सी ।

भारतमा जारी १२औं सागमा नेपालले आज तीनवटा पदक जितेको छ । भारोत्तोलनको पुरुष र महिलातर्फ नेपालले एक रजत र एक काश्य तथा पुरुष कुश्तीमा एक काश्य पदक जितेको हो ।

भारोत्तोलनको पुरुष ६२ केजी समूहमा नेपालका विकास थापाले रजत पदक जिते । तर, नेपाललाई पहिलो पदक भने भारोत्तोलनमै महिलातर्फ ५३ केजी तौल समूहमा देवीकुमारी चौधरीले कास्यको रुपमा दिलाइन् ।  

सागमा पहिलोपटक समावेश महिला भारोत्तोलनमा उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन् । पाँच खेलाडी सहभागी यस खेलमा उनले पाकिस्तान र बंगलादेशीलाई उछिनेकी हुन् ।

पुरुषतर्फ विकासले स्न्याचमा १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ३० गरी कूल २ सय ४२ केजीको भार उचालेका थिए । सो स्पर्धामा श्रीलंकाले स्वर्ण र बंगलादेशले काश्य पदक जिते ।

त्यस्तै कुश्तीको ६५ केजी तौल समूहमा नेपालका सरोज यादवले काश्य जितेका छन् । उनी पाकिस्तानका नादारसँग पराजित भए ।

३ वटा पदक जितेको नेपाल तालिकाको पाँचौ स्थानमा छ । १३ स्वर्ण र ४ रजत जितेको भारत पहिलो २ स्वर्ण ९ रजत र ७ काश्य जितेको श्रीलंका दोस्रोमा छ । १ स्वर्ण २ रजद र २ काश्य जितेको पाकिस्तान तेस्रो स्थानमा रहँदा १ रजत र ७ काश्य जितेको बंगलादेश नेपालभन्दा एक स्थान माथि चौथोमा छ ।

 


प्रतिक्रिया