एमाले नेता नेपालमाथि कुर्सी प्रहार /अर्थमन्त्री महतको गाडीमा सुतली बम फालियो

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७२

साउन ४, रौतहट/नुवाकोट ।

 

संविधानको प्रारम्भिक मस्यौदा माथि जनताको राय सुझाव संकलनका क्रममा शीर्ष नेताहरुमाथी समेत आक्रमण प्रयास भएको छ । एमाले नेता माधव कुमार नेपालमाथी रौतहटमा कुर्सी प्रहार भएको छ भने अर्थमन्त्री समेत रहेका कंग्रेस नेता रामशरण महत सवार गाडीलाई लक्षित गरि नुवाकोटमा सुतली बम प्रहार भएको छ । सदभावन पार्टीका कार्यकर्ताले अवरोध गरेपछि नेता नेपाल सहभागी रौतहटको गौरमा आयोजित कार्यक्रम बिथोलिएको छ । रौतहटमा सुझाव संकलनका कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता माधवकुमार नेपाल माथि मधेश केन्द्रित दलका कार्यकर्ताले कुर्सी प्रहार गरेपछि कार्यक्रम नै बिथोलिएको छ ।

गौर नगरपालिकाको सभाकक्षमा भएको कार्यक्रममा सद्भावना पार्टी समर्थकले बिरोध जनाउदै कुर्सी उचालेर नेता नेपालमाथि प्रहार गरेका हुन् । हल भित्र कार्यक्रम भईरहदा बाहिर समेत कार्यक्रम बिथोल्न बसेका मधेशी दलका नेता तथा कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । सबै क्षेत्रका सभासद् सम्मिलित कार्यक्रममा हल भित्र बहश सुरु हुनासाथ असन्तुष्ट दलले नाराबाजी गरेका थिए । संघिय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई समेत कार्यक्रममा जान रोक लगाएपछि स्थिति तनावपूर्ण बनेको हो । कार्यक्रस्थल बाहिर ढुङ्गामुढा हुन थालेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । केहीबेर कार्यक्रम संचालन भएपनि कार्यक्रम बिथोलिएपछि सुरक्षाकर्मीले नेता नेपालसहित सभासदहरुलाई कडा सुरक्षाबीच चन्द्रनिगाहपुर पुर्‍याएको छ ।

यसैबीच कंग्रेस नेता महत सवार गाडीमा आक्रमण प्रयास भएपनि उहाँ भने सकुशल रहेको हाम्रा नुवाकोट सहकर्मी प्रकाश अधिकारीले जनाएका छन् । यस्तै विभिन्न स्थानमा आयोजित सुझाव संकलन कार्यक्रममा असन्तुष्ट दलले अवरोध पुर्‍याएका छन् । राजधानीको दशरथ रंगशालामा आयोजित सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण प्रयास गरेपछि कार्यक्रम नै बिथोलिएको छ । यस्तै किर्तिपुरमा आयोजित सुझाव संकलन कार्यक्रममा नेकपा माओवादीका कार्यकर्ताले अवरोध पुर्‍याएका छन् । संविधानको मस्यौदामा जनताको सुझाव लिने जस्तो महत्वपुर्ण कार्यक्रममा अवरोध पुर्‍याउनु दुर्भाग्यपुर्ण भन्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले यस्ता क्रियाकलाप नगर्न आग्रह गर्नुभएको छ । 

यसैबीच जनकपुरमा मधेस केन्द्रित असुन्तष्ट समुहले अन्तरिम संविधान र सर्वोच्च अदालतको आदेश विपरित राय सुझाव संकलन गर्न लागिएको भन्दै बिरोध जनाएको छ । असन्तुष्ट समुहले जनकनपुरमा आज बन्दको आह्वान गरेको छ । 


प्रतिक्रिया