सुझाव संकलनमा आज पनि विभिन्न स्थानमा अवारोध तथा झडप

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७२

साउन ५, काठमाडौं ।

 

संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनका क्रममा आज पनि विभिन्न स्थानमा अवरोध तथा झडप भएका छन् । काठमाडौं क्षेत्र नं १ अन्तर्गत बानेश्वर ब्याङ्केटमा सुझाव संकलनका क्रममा सामान्य झडप भएको छ । सो क्षेत्रमा राप्रपा नेपालले नाराबाजीसहित प्रदर्शन गरेपछि कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको हो । स्थिती नियन्त्रणमा आएसंगै उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन गरिएको छ । कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरेका थिए । यस्तै बसन्तपुर क्षेत्रमा पनि प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । 

हेटौडामा पनि जनमत संकलनमा अवरोध पुर्‍याउन खोज्ने राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा राप्रपा नेपालका सभासद् गणेश थापासहित १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । पल्पसा हलमा भएको सुझाव संकलनका कार्य बिथोल्न ढुङगामुडा गरेका राप्रपा नेपालका कार्यकर्तामाथी प्रहरीले लाठी चार्ज गरेको थियो । 

उता, उदयपुर सदरमुकाम गाईघाटमा सुझाव संकलनमा अवरोध गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघीय समाजवादी फोरम, राप्रपा नेपाल, राप्रपा, चन्द नेतृत्वको माओवादी लगायत दलका कार्यकर्तालाई पक्रउ गरिएको प्रहरी उपरिक्षक टेकबहादुर गुरुङले जानकारी दिनुभयो । 

धनकुटा सदमुकाममा आयोजित सुझाव संकलन कार्यक्रममा लिम्वुवान कार्यकताले अबरोधको प्रयास गरेका छन् । सामुदायीक भवनमा आयोजित कार्यक्रममा मञ्चमा उक्लेर नाराबाजी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि संघिय समाजवादी फोरम र राप्रपा नेपालका कार्यकर्ताले मस्यौदामा असहमति जनाउादै आफ्ना भनाई राखेर बाहिरिएका थिए । 


प्रतिक्रिया