अन्त्य भएको लकडाउन हो कोरोना हैन

श्रावण ७, २०७७ | काठमाडौं

सरकारले झण्डै ४ महिना लामो लकडाउन अन्त्य गरेसँगै धेरैको मनमा एउटै प्रश्न उब्जियो– अब के हुन्छ ? पछिल्लो एक महिना खुकुलिएको लकडाउनले जनताको दैनिकी पहिले जस्तो आक्रान्त नभएपनि फुक्काफाल हुन सकेको थिएन । तर, अब लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि नागरिकको दायित्व थपिएको छ ।

स्वतन्त्रता र अधिकारको माग गर्ने हामीहरुले अब कर्तव्य कसरी पालना गर्छौं भन्नेमै कोरोना संक्रमणको दर र दायरा निर्भर हुनेमा कुनै द्विविधा छैन । सार्वजनिक जीवनलाई चलायमान बनाउन सरकारले अख्तियार गरेको नीतिले मुलुकको आर्थिक चक्र त घुम्ला तर यसले सामाजिक र मनोवैज्ञानिक त्रासमा रहेका नागरिकको मनोबल थप मजबुत बनाउँछ या कमजोर पार्छ आगामी दिनमा अनुभूत गरिने नै छ । तर, हाललाई लकडाउन अन्त्यको अन्तर्य मुलुकबाट कोरोना संक्रमणको जोखिम हटिसक्यो भनेर बुझियो भने त्यसले थप भयावह स्थिति ननिम्त्याउला भन्न सकिन्न ।

संक्रमितको संख्या न्यून रहेको र संक्रमण समुदाय तहमा फैलिनसकेको भन्ने दलीलका आधारमा लकडाउन अन्त्य गरेको सरकारले परीक्षणको दायरा भने नागरिकको चाहना अनुसार बढाएको छैन । परीक्षणको संख्या घटाएर सक्रमितको संख्या कम देखाउँदै लकडाउन अन्त्य गर्दा यो हतारको निर्णय त थिएन भन्ने संशय पनि जनस्वास्थ्य विद्हरुले औंल्याईंसकेका छन् । छिमेकी भारतमा संक्रमणको दर र दायरा दुबै बढिरहेको अवस्थामा सीमामा गर्नुपर्ने कडाइमा अलिकति पनि चुकियो भने पत्करमा आगो सल्किए सरी कोरोनाको कहर नेपालमा फैलिने खतरातर्फ पनि सचेत हुनुपर्ने उनीहरुको तर्क छ ।

यस्तोमा नागरिकले लकडाउनका बेलामा पालना गरेका धर्म र जनस्वास्थ्यका दृष्टिले संक्रमण नियन्त्रण एवं रोकथामको उपाय अबलम्बन गर्न जरुरी छ । कोरोना सकिएझैं गरेर यसको दुष्चक्रअघिकै जीवनयापन अँगाल्न थालियो भने कतिपय मुलुकमा पुन: कडाइका साथ लागू गरिएको लकडाउनको नियति हामीले पनि भोग्नुपर्ने हुन्छ ।

आम नागरिकले आवश्यक काममा बाहेक घरबाहिर ननिस्कने, सकभर घरमै बस्ने, सही तरिकाले मास्क लगाएर मात्रै बाहिर निस्कने, भीडभाडमा नजाने र नगर्ने, बाटो, चोक, पसल, अफिस लगायत सबै सार्वजनिक स्थलमा कम्तिमा ६ फिटको दूरी कायम गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका स्वास्थ्य सावधानी र सुरक्षा सतर्कता बढाउन जरुरी छ ।

म बाहेक अरु सबैलाई कोरोना लागेको छ भन्ने ठानेर सावधानी अपनाउनु नै अहिलेको समयमा नागरिकले निर्वाह गर्न सक्ने र गर्नुपर्ने प्रमुख दायित्व हो । सार्वजनिक यातायातको प्रयोग गर्दा केही समयलाई त हो भनेर मिलेर यात्रा गरौं न भन्ने भूल गर्ने छुट कसैलाई छैन । तर, नागरिकको दैनिकी सहज पार्न सार्वजनिक यातायातको महत्वपूर्ण भूमिका हुने हुँदा सरकार र व्यवसायीले यसलाई कसरी व्यवस्थापन गर्छन् भन्नेमा धेरैथोक निर्भर छ । साँझको समयमा पहिले पनि निकै भिडभाड हुने सार्वजनिक यातायात आधा सिट क्षमतामा सञ्चालन हुँदा उपभोक्ताको चाप व्यवस्थापन गर्नु अर्को चुनौती छ ।

लकडाउनका बेला घरमा बसेजस्तो सजिलो लकडाउन अन्त्य भएपछिका दिनहरु पक्कै पनि छैनन् । असहज दिनमा हामीले दर्शाउने बुद्धिमत्तापूर्ण व्यवहार र आचरणले कोरोना कहरविरद्ध कति लामो वा छोटो समयमा जित हासिल गर्न सकिन्छ भन्ने निर्भर छ । किनभने सरकारले लकडाउन मात्रै अन्त्य गरेको हो कोरोना महामारी हैन । 


प्रतिक्रिया