चुनौतीको घेराबीच सदस्य सचिवको दोस्रो इनिङ्स

श्रावण १५, २०७७ | काठमाडौं

‘हरेक चर्चित पुस्तकपछिको दोस्रो कृतिमा लेखक मर्छ’ साहित्यमा यो भनाइ खुबै चर्चित छ । एउटा कृतिमा पाएको सफलतालाई अर्को पुस्तकसम्म डोर्‍याउन लेखकलाई कति गाह्रो रहेछ भन्ने सो लाइनले दर्शाउँछ । नेपाली खेलकुदमा पनि अहिले यस्तै अवस्था आइलागेको छ । 

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा आफ्नो दोस्रो इनिङ्स सुरु गरेका रमेशकुमार सिलवाललाई पनि पहिलो कार्यकालमा स्थापना गरेका सफलताका मानकलाई नाघ्ने चुनौती छ । तर, परिवेश र समयक्रम मात्रै हैन उनको क्षेत्राधिकार पनि नयाँ खेलकुद ऐनले खुम्च्याएको छ ।

अघिल्लो कार्यकाल एकल र कार्यकारी अधिकार सहितको जिम्मेवारी पाउँदा सिलवालले असम्भव जस्तै ठानिएको १३ औं दक्षिण एशियाली खेलकुदलाई सम्भव तुल्याएका थिए । तर, हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले सदस्य सचिवको सो अधिकार राखेपको ७ सदस्यीय कार्यसमितिलाई सुम्पेको छ । त्यसमाथि तालुकदार मन्त्रालय युवा तथा खेलकुदको सर्वोच्चता पनि स्थापित गरिदिएको छ नयाँ ऐनले । 

सदस्य सचिव भएपनि मन्त्रालयलाई आफ्ना योजना अनुसार हिँडाउन र मनमौजी तरिकाले खेलकुदलाई हाँक्ने छुट अघिल्लो पटक सिलवाललाई थियो । तर, यो पटक उनी कानूनले बाँधिएका छन् । यो बन्धनले उनको कार्यक्षमतामा ह्रास आउँछ वा त्यसको असरबाट उनी यसपटक पनि मुक्त हुन्छन् हेर्न बाँकी छ ।

मन्त्रालयमा आयोजित शपथ कार्यक्रममा सचिव रामप्रसाद थपलियाले नयाँ कानूनले तोके अनुसार कार्य गर्न मात्रै सदस्य सचिवलाई सुझाएनन् उल्टै जथाभावी पूर्वाधार निर्माणको आश्वासन नबाँड्न पनि सचेत गराए । यसबाट पनि राखेप सदस्य सचिव यसअघिका जस्ता शक्तिशाली हुन पाउने छैनन् भन्ने छनक दिएको छ । 

नयाँ ऐनबाट खेलकुदको विकास सम्भव नभएको भनेर सिलवलाले सार्वजनिक अभिव्यक्ति दिइसकेको सन्दर्भमा उनी सोही ऐन अनुसार नै नियुक्ति लिएर त्यसलाई कसरी कार्यान्वयन गराउँछन् हेर्न बाँकी छ ।

पछिल्लो समय मुलुक कोरोनाको महाव्याधिबाट आक्रान्त भएसँगै नेपालको खेलकुद ठप्प प्राय छ । यसलाई चलायमान बनाउने मात्रै हैन खेलाडीको मनोबल उच्च राख्नका लागि पनि उनले अल्पकालिन कार्यक्रम ल्याइहाल्न जरुरी छ । 

खेलकुद संघहरुलाई चलायमान बनाउने, प्रतियोगिताहरु नियमित र निश्चित गर्नु पनि उनको अर्को चुनौती हो । पूर्वाधार निर्माणलाई तीब्रता दिने र भएकाको संरक्षण गर्दै नवौं राष्ट्रिय खेलकुदलाई समयमै सम्पन्न गराउनु पनि उनको तत्कालीन चुनौतीभित्र पर्छन् । यो सब कुरा खेलकुद मन्त्रालयसँग उनको सम्बन्ध कत्तिको सुमधुर हुन्छ भन्नेमा निर्भर छ ।

तर, राजनीतिक नेतृत्वको विश्वासपात्रका रुपमा चिनिएका सिलवाल शक्ति सन्तुलनमा अभ्यस्त छन् । खेलकुदको क्षेत्रमा नयाँ नाम नहुनु र यसअघिको परीक्षामा खरो उत्रिएका कारण पनि सिलवालबाट नेपाली खेल क्षेत्रले ठूलै आश गरेको छ । स्यालको शिकार गर्नका लागि बाघ मार्ने तयारी गर्नुपर्छ भने जस्तै चुनौतीका यस्ता श्रृंखलालाई चिर्न कत्तिको तयारी गर्छन् भन्नेमा यिनको दोस्रो इनिङ्स निर्भर छ । 


प्रतिक्रिया