दीर्घ रोगीहरुमा कोरोना संक्रमण बढी देखिनु चिन्ताको विषय: स्वास्थ्य विज्ञ

भाद्र १४, २०७७ | काठमाडौं

नेपालमा भदौं एक गते कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७ जना थियो । मन्त्रालयको तथ्याङ्कअनुसार आजसम्म आइपुग्दा सो संख्या बढेर २ सय २३ पुगिसकेको छ । लक्षण सहितका संक्रमितको संख्या उल्लेख्य बढ्नु, दीर्घरोगीहरु बढी संक्रमित हुनु, शहरी क्षेत्रमा संक्रमणदर उच्च हुनुले पनि नेपालमा मृत्युदर बढ्दो क्रममा छ । स्वास्थ्यका जानकारहरु रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घ रोगीहरुमा संक्रमण बढी देखिनुलाई गम्भीर चिन्ताको विषय ठान्छन् ।

भदौ १ गतेको तथ्यांकमा नेपालमा कोरोना संक्रमितको मृत्युदर शुन्य दशमलव ३९ प्रतिशत रहेको थियो । त्यस यता यो क्रम दिनदिनै बढ्दो छ । भदौ ५ सम्म आइपुग्दा त्यो संख्या बढेर शुन्य दशमलव ४४ भयो । आज शुन्य दशमलव ५७ पुगेको छ । पछिल्लो समय संक्रमण दर बढी रहेको पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा मात्रै अहिलेसम्म ३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुने मध्ये अधिकांश मुटु रोगबाट पीडित रहेको अस्पतालका डा निरज सिंहले बताउनुभयो ।

पछिल्लो समय प्रदेश २ र बागमती प्रदेशमा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । मृत्युदर पनि यिनै दुई प्रदेशको बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ । प्रदेश २ का अधिकांश जिल्लाका बिरामी विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन जाने गरेका छन् । कोशी अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवका अनुसार अहिलेसम्म अस्पतालमा उपचारका क्रममा १२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्ये धेरै दीर्घरोगी र अन्य अस्पतालमा उपचार नपाएर ढिलो आउँदा मृत्यु भएका छन् ।

लामो समयदेखि मुट, फोक्सो, मधुमेह, उच्च रक्तचाप, कलेजो लगायतका रोगबाट पीडित रोगीहरु उच्च जोखिममा रहने भन्दै विज्ञहरुले थप सतर्कता अपनाउन सुझाउँदै आएका छन् । यस्ता रोगीलाई जाडो मौसममा अझ बढी समस्या हुने चिकित्सकहरु बताउँछन् । संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी जाडो मौसम नजिकिदै गरेकाले कोरोना संक्रमणको दर उच्च हुन सक्ने संकेत गर्नुहुन्छ ।

दीर्घरोगीलाई कोरोना संक्रमणले बढी असर गरेको पाइए पनि कुन रोगबाट पीडित व्यक्तिलाई जोखिम बढी छ भन्ने यकिन तथ्यांक भने छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकमा २ सय २३ जना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्ये ९० प्रतिशत दीर्घरोगी रहेको मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारी दाबी गर्नुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार निको हुने दर ५४ प्रतिशत रहेको छ । यस्तै ४५ दशमलव ४३ प्रतिशत संक्रिय संक्रमितको दर छ । ४० वर्षमाथिका र अन्य स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरुको मृत्युदर बढी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट जोगिन व्यक्ति विशेषले सतर्कता अपनाउनु बाहेक अन्य उपाय छैन पनि । दीर्घ रोगीले संक्रमणबाट जोगिन नियमित औषधि सेवन गर्नु र परिवारका सदस्यले त्यस्ता व्यक्तिको स्वास्थ्यमा ध्यान दिन जरुरी देखिन्छ । 


प्रतिक्रिया