‘अब सचेत हुने पालो व्यक्ति स्वयंको ’

भाद्र २५, २०७७ | काठमाडौं

निषेधाज्ञा खुकलो भएसँगै नागरिकको दैनिकी चलायमान भएको छ । तर, कोरोना संक्रमणको विस्तार र जोखिम कम गर्ने दायित्व पनि अब नागरिककै काँधमा छ । सरकारी प्रयासमात्रै महामारीको रोकथाम र नियन्त्रणमा प्रभावकारी नहुने भन्दै विज्ञहरुले स्वास्थ्य सावधानी अपनाएर आफ्ना गतिविधि सञ्चालन गर्न सुझाएका छन् । नभए, पुन: अर्को लकडाउन कुर्नुका लागि तयार हुनुपर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको चलहपहल बढेको छ । महिनौंदेखि बन्द बजार पसल, तीनवटै जिल्लाले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाउँदै खुला भएका छन् । निजी र सार्वजनिक सवारी पनि जोर विजोर प्रणालीमा चल्ने भएपछि सडकमा सवारी साधनको चाप बढेको छ । बढेको यो चहलपहलले नागरिकको दैनिकी सहज भएपनि कोरोनाको कहरले थप असहज स्थिति पैदा नहोस् भन्नका लागि आफैं सचेत र सतर्क रहनुपर्ने विज्ञहरुको सुझाव छ । जनस्वास्थ्य विद डा. शरद वन्त कुनै औषधि, खोप भन्दा सही ढंगबाट मास्कको प्रयोग, हातको सफाई र भौतिक दुरी कायम गर्नु नै मुख्य विकल्प रहेको बताउनुहुन्छ ।

संक्रमण दर कम भएर , महामारी घटेकाले सरकारले निषेधाज्ञा खुकुलो बनाएको हैन । आर्थिक र सामाजिक अवस्था थप भयावह नबनोस् भन्नका लागि निषेधाज्ञा खुकुलो पारिए पनि अपनाउनुपर्ने सावधानीबारे कोही पनि लापरबाह बन्ने छुट छैन । सरकारले मात्र कोरोना संक्रमण र रोकथामका लागि गरेको प्रयास पर्याप्त नहुने भन्दै व्यक्तिले नै विशेष ध्यान दिनु पर्ने संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीको भनाई छ । आफू पनि जोगिने र अरुलाई पनि जोगाउने सबैको जिम्मेवारी बढेको डा सुवेदी बताउनुहुन्छ ।

संक्रमणको दर र रफ्तार उपत्याभित्रै पनि बढ्दो क्रममा छ । जनस्वास्थ्य विज्ञहरु कोरोना संक्रमण घर घरमा पुगीसकेपनि स्थानीय सरकारले यसको रोकथाम र नियन्त्रणमा खासै तदारुकता नदेखाएकोमा खिन्न छन् । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन समुदायमा कोरोना संक्रमण देखिए पनि स्थानीय तहको उदासिनताका कारण आवश्यक परीक्षण हुन नसकेको बताउनुहुन्छ । निषेधाज्ञा हुनु भन्दा अगाडि बाहिरबाट आएका व्यक्ति घर भित्र बसेर आफन्तसंग घुलमिल भएका कारण उपत्यकामा अहिले संक्रमितको संख्या बढेको उहाँको भनाई छ ।

कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न तहगत संरचना बनाए पनि कार्यान्वयन पक्ष भने फितलो रहेको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । अन्य मूलुकले अपनाएको सावधानीबाट पाठ सिकेर सरकारले सशक्त कदम चाल्न नसकेको विज्ञहरुको भनाई छ । स्वास्थ्य विभागका पूर्व महानिर्देशक बाबुराम मरासिनी वैज्ञानिक रुपले सरकारले अझै व्यवस्थापन गर्न नसकेको बताउनुहुन्छ । बैंकमा १० वटा काउण्टर मध्ये ६ वटा सञ्चालनमा छ बाँकी ४ वटा बन्द छन् । यस्तो विषम परिस्थितिमा सबै काउण्टर खोल्नुपर्ने उहाँको भनाई छ । यस्तै मलमा पनि स्वास्थ्य मापदण्ड अपनाएको नपाइएको उहाँको भनाई छ ।

निषेधाज्ञा मात्र समस्याको समाधान होइन, यसले मात्रै समस्या हल गर्न नसक्ने भन्दै जनस्वासथ्य विज्ञले अन्य विषयमाथि पनि गम्भिर बन्न सरकारलाई संक्रमण देखिए बाटै सुझाव दिदै आएका छन् । पछिल्लो समय काठमाण्डौं उपत्यका कोरोनाको हटस्पट बन्दै गएकामा अझै पनि सतर्क हुन नसके यसको रुप भयावह हुन सक्ने जनस्वास्थ्य विज्ञहरुको भनाई छ । जनस्वास्थ्य विद डा वन्त संक्रमणको विस्तारलाई खुम्च्याउन गरिने कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी ढंगबाट हुन नसकेको बताउनुहुन्छ । काठमाण्डौं रेड जोनका रुपमा स्थापित भइसकेकाले यहाँ भएको संक्रमण रोक्न दुई वटा उपाय रहेको उहाँको भनाई छ । एउटा उपाय भनेको बाहिरबाट आउन पुरै रोक लागाउनु अर्को भनेको यहाँ भित्रको संक्रमण थप फैलिन नदिन तप उपाय अपनाउनु पर्ने उहाँको भनाई छ ।

कोरोना संक्रमणसँग जुध्ने एकमात्र उपाय यो नै हो भन्ने अहिलेसम्म कुनै पनि विज्ञहरुले भन्न सकेका छैनन् । औषधि र खोपको विकास भइनसकेको अवस्थामा स्वास्थ्य सुरक्षा र सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय हो । जीवनशैली र आर्थिक गतिविधि ठप्प भयो भनेर निषेधाज्ञा हटाइ माग्ने हामी नागरिकले अबका दिनमा कत्तिको स्वास्थ्य सुरक्षा सावधानी अपनाउँछौं भन्नेमै संक्रमणको चेनको बिस्तार र रोकावट निर्भर छ । त्यसैले निषेधाज्ञा हटाउन निस्किएको हामी नागरिकको एक स्वर खुकिलिएको निषेधाज्ञालाई सुरक्षित र स्वस्थ बनाउनेतर्फ पनि केन्द्रित हुनपर्छ । 


प्रतिक्रिया