संकट सामना कि सावधानी ?

आश्विन २६, २०७७ | काठमाडौं

समय सामान्य भएको भए यतिबेला मुख्य चाडबाड मान्न काठमाडौं छोड्नेको लर्को लाग्थ्यो । तर, कोरोना कालमा अवस्था सामान्य भन्दा फरक हुने नै भयो । संक्रमणको जोखिम बोकेर मान्यजनको हातबाट आशीर्वाद लिने मुडमा धेरै मानिस छैनन् । 

गाउँघरमा सुरक्षित बसेका अभिभावक, मान्यजन र बयोवृद्धहरुलाई कोरोना सार्ने चाहना नगर्नु अहिलेका लागि बुद्धिमत्तापूर्ण काम हो । स्थिति यति भयावह भैसक्यो कि जनसंख्याको हिसाबमा ४७ गुणा बढी जनसंख्या भएको चीनलाई समेत नेपालले कुल संक्रिमत संख्यामा उछिनिसक्यो । ५० लाख भन्दा बढी बसोबास गर्ने काठमाडौं कोरोनाको ‘बमसेल’ जस्तै भएको छ । कतिबेला कसरी विस्फोट हुने हो अनुमान गर्न गाह्रो छ ।

यति भईसक्दा समेत अपनाउनु पर्ने स्वास्थ्य सावधानी प्रति हामीले पूरै आँखा चिम्लिन थालेका छौं । चाडबाड लक्षित खरिदारीमा व्यस्त भईरहँदा संक्रमणको जोखिमलाई नजरअन्दाज गर्न थालिएको छ । सडकपेटीमा समेत पसल चल्न थालेका छन् । बजारमा मानिसको ओहोरदोहोर बाक्लै हुन थालेको छ । 

आधा क्षमतामा सञ्चालन हुनुपर्ने सार्वजनिक यातायात पूर्णमात्रै हैन कोचाकोच गरेर सञ्चालन भइसकेका छन् । यातायातमा स्यानिटाइजर त आकाशको फलजस्तै भइसक्यो । अरु त अरु सरकारी कार्यालयमा भिडभाड पनि बढेकै छ । हामी नागरिक कपित लापरवाह र बेपरवाह छौं भनिसाध्य छैन । मास्क लगाउन हामीले भूलिसक्यौं । लगाएपनि चिउँडो मास्तिर उक्लिदैंन मास्क । 

भौतिक दूरी पालनालाई भन्दा मिच्नमा गौरव अनुभूति गर्नेहरु पनि छौं । सरकारले बनाएको नियमलाई तोड्न पाउँदा बहादुरी ठान्नेहरुबाट कोरोना संक्रमणको जोखिम बढ्दो छ । र, दु:खको कुरो यस्तो ठान्नेहरु दिनप्रतिदिन बढ्दै छन् ।

त्यसै पनि अबको दुई महिना संक्रमणको जोखिम बढी हुन्छ । मुख्य चाडबाड अबको २ महिनाभित्रै पर्छ । भेटघाट, मठमन्दिर जाने, ईष्टमित्रसँग रमाइलो गर्ने बानीमा सुधार ल्याइएन भने स्थिति हाम्रो सामुन्ने भयावह हुनेमा कुनै द्विविधा छैन । 

अहिलेलाई गर्ने भनेकै सकेसम्म आफू बसिरहेको ठाउँ छाडेर अन्त नजाने, जानै परे स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउने, वृद्धवृद्धालाई संक्रमण नसरोस् भनेर उच्च सतर्कता अपनाउन जरुरी छ । एक वर्ष चाडबाड धुमधाम नगरी सामान्य तरिकाले मनाएर केही फरक पर्दैन ।

सरकार बिस्तारै आफ्नो जिम्मेवारीबाट पछि हटिरहेको अवस्थामा आफ्नो र परिवारको स्वास्थ्यको दायित्व नागरिककै काँधमा आएको छ । अस्पतालका सघन उपचार कक्ष भरिभराउ हुन थालिसकेका छन् । बिरामी थपिंदै गर्दा उपचारै पाउन पनि मुस्किल हुन थालिसकेको छ । बेहोस हुन लाग्दा मात्रै अस्पताल आउनु भनेर स्वास्थ्य मन्त्रालयले नै भनिसक्दा पनि ज्यान जोगाउन आफैं सतर्क नभए ठूलो क्षति व्यहोर्नु पर्छ ।

यही गतिमा संक्रमण बढे सरकारले तत्काल स्वास्थ्य पूर्वाधार थपिहाले पनि धान्ने अवस्था छैन । अहिलेका लागि संक्रमितको संख्या अनियन्त्रित ढंगले बढ्न नदिनेतर्फ नै हाम्रो सामूहिक पहल हुनुपर्छ । संक्रमितहरु निर्बाध रुपमा हिँड्डुल गर्ने, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु स्वाब दिएर पनि अलग्गै नबस्ने अवस्थाको अन्त्य नै अहिलेको प्राथमिक कार्य हो । त्यसपछि परीक्षणको दर र दायरा बढाउनु पर्छ । एउटाको लापरबाहीले समाज पिरोलिनु पर्ने अवस्था आउने कोरोनाको प्रकृति भएकाले अब पनि सचेत र सतर्क भइएन भने ठूलै मूल्य चुकाउनुको विकल्प हुन्न । 


प्रतिक्रिया