निर्मलालाई नमिलेको न्याय र भागरथीको नियति

माघ २६, २०७७ | काठमाडौं

खासमा समाज मानवीय हुन पर्ने हो तर, पछिल्लो समय आसुरी शक्ति समाजमा हाबी भएको छनक मिल्दै गएको छ । स्कूल गएका छोरीहरु, वन गएका दिदीबहिनीहरु र कतिपय अवस्थामा घरमा एक्लै भएका महिला कोही पनि ढुक्क हुन सकिरहेका छैनन् । सुरक्षित छैनन् । आफ्नैहरुबाट भयभीत भइ बाँच्न अभिशप्त किन छन् महिला ?

यदि त्यसो नहुँदो हो त बैतडीको दोगडाकेदार–३ स्थित सनातन धर्म मावि, खोचलेकमा कक्षा १२ मा पढ्ने भागरथी भट्ट सकुशल घर फर्किने वातावरण बन्ने थियो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३० महिना नाघ्दा पनि बलात्कारी र हत्यारा पत्ता लाग्न नसक्नुले यसमा सरकारी उदाशिनता छर्लङ पारेको छ । राज्यसंयन्त्र जनताको जीवनरक्षाको दायित्वप्रति कति लापर्बाह छ भन्न कुनै दसी जुटाइराख्न पर्दैन ।

प्रहरीकै तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक ६ वटा बलात्कार जस्तो जघन्य अपराधका घटना हुन्छन् हाम्रो समाजमा । बलात्कारीको मनोबल बढिरहने र अमानवीय अपराधमा संलग्नलाई कारबाहीसम्म नहुने अवस्थाको अन्त्यका लागि अझै कति निर्मला र भागरथीहरुले यौन पिपासुहरुको शिकार हुनपर्ने हो कसैलाई थाहा छैन । सरकार र राज्य संयन्त्रमाथिको नागरिकको अविश्वास कतिखेर विश्वासमा परिणत हुने हो यो पनि कसैले भन्न सक्ने अवस्था छैन ।

सबैभन्दा दु:खद त के भने बलात्कारपछिका घटनामा समाज अझै पनि बलात्कारीलाई जोगाउन अनेक प्रपञ्च रचिरहेकै छ । पञ्चायती बसेर मिलाउने, पीडकले छाती फुलाएर बस्ने र पीडितले सधैं लाञ्छित र कलङ्कित भएर बस्नुपर्ने घटनामा कहीँकतै पनि कमी आउन सकेको छैन । यसले हाम्रा छोरीहरुले भविष्यमा निर्मला र भागरथीकै निर्मम नियति नभोग्लान् भन्न सकिन्न । उनीहरु आततायीको शिकार नहुने ग्यारेन्टी समाज र राज्यले गर्न सकेको छैन ।

बलात्कार कस्ले गर्छ ? बलात्कार पुरुषले गर्छ कि बलात्कारीले ? यसमा हामी निकैबेर घोत्लिन सक्छौं । तर, यक्षप्रश्न के पनि हो भने पुरुष सन्तानलाई हामी कस्तो वातावरणमा हुर्काउँदै छौं ? महिला शरीर र उनीहरूको यौनिकतामाथि हाम्रा पुरुष सन्तानहरुको बुझाइमा कहाँनेर फरक पर्‍यो ? महिलालाई जे गरे पनि हुन्छ’ भन्ने पुरुष मानसिकता किन यति सारो मौलाउँदै छ ? यस्ता प्रश्नको उत्तर समाजले खोज्ने बेला भइसकेको छ । किनभने निर्मलाले समयमै न्याय पाएकी भए अहिले भागरथीहरुले यो नियति भोग्न पर्ने थिएन । त्यस अर्थमा दोषको अंशियार हामी पनि हौं । बलात्कार जस्तो जघन्य अपराध नियन्त्रणमा पनि खुल्न नसक्ने हामी कस्तो समाज निर्माण गर्दै छौं ? हामी कस्तो अभिभावक बन्दै छौं ? कस्तो राज्यका नागरिक बन्दै छौं हामी ?

यहाँ त अवस्था कतिसम्म भयावह छ भने प्रहरी प्रशासनको बागडोर सम्हालेर बसेका गृहमन्त्रीलाई झन्डै तीन सय हाराहारीको बलात्कारका घटनाको विश्लेषण गर्दा चिन्तित हुने स्थिति हैनजस्तो लाग्छ । सार्वजनिक कार्यक्रममै भनिदिन्छन् ‘बलात्कार अन्यत्र पनि भएका छन् । हामी धेरै चिन्तित हुनुपर्ने अवस्थामा छैनौं ।’ बलात्कारका एउटै पनि घटना नहोउन् भन्नेतर्फ राज्यको ध्यान किन गएन भन्ने प्रश्नको उत्तर गृहमन्त्रीको अभिव्यक्तिमै लुकेको छ । यस्ता घटनामा सम्पूर्ण समाज र राष्ट्र जवाफदेही नबन्दा गृहमन्त्री मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानमा जाक्ने धमास दिन्छन् बलात्कारीलाई हैन ।

कानूनको उचित कार्यान्वयन गर्न राज्य प्रशासन चुक्दै जाने हो भने बलात्कारका घटनाका श्रृंखलाहरु रोकिन्नन् । बलात्कारजस्तो जघन्य, क्षुद्र र नीच घटनाका अपराधी र उसलाई जोगाउन खोज्ने सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन राज्य संयन्त्रको उपस्थिति दह्रो हुनपर्छ । तत्कालका लागि भागरथीको हत्यारालाई पक्रेर कारबाही गर्नु नै राज्यको प्राथमिक दायित्व हुनुपर्छ । नत्र, महिला र बालबालिकाविरुद्ध भएका यौनजन्यहिंसा र बलात्कारका घटनाको बढोत्तरीले एक पुरुषलाई पुरुष हुँ भनेर अनुहार देखाउन समेत लाज लाग्ने अवस्था नआउला भन्न सकिन्न ।


प्रतिक्रिया