कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा स्वास्थ्य संकट पनि चुलिदैं

वैशाख १३, २०७८ | काठमाडौं

नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लाग्दोछ । संक्रमितको संख्या सँगै दोस्रो लहरमा मृत्युदर पनि बढ्दो छ । बैशाख एक गते ६ सय बढीमा देखिएको संक्रमण सोमबार आइपुग्दा ५ गुणाले बढेको छ भने यो बीचमा १ सय १५ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । काठमाडौं उपत्यका, बाँके, वीरगञ्ज लगायत ठाउँका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् । यही गतिमा संक्रमण फैलिदै गए स्वास्थ्य पुर्वाधारले धान्न नसक्ने भन्दै सरकारले सचेत गराएको छ । मन्त्रालयले यसको नियन्त्रण र न्युनिकरणका लागि संवेदनशील बनिदिन सबैमा अपिल गरेको छ ।

कोरोना भाइरसका नयाँ भेरियन्टहरु बढी संक्रामक हुँदा नेपालमा मात्र हैन विश्वभर नै चुनौती बढेको छ । डबल म्युटेन्ट भएका कोरोना भाइरस जुनसुकै उमेर समूहका व्यक्तिका लागि पनि संक्रामक रहेको चिकित्सकको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला नेपालको पछिल्लो ग्राफ हेर्दा युवा पुस्तालाई कोरोना संक्रमणले बढी गाँजेको बताउँछन् ।

पछिल्लो केही महिना भारतमा बढेको संक्रमण संगसंगै नेपालमा पनि संक्रमण दर बढेको छ । संक्रमण दर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्ला केही दिनमा ३० प्रतिशतको संख्यामा पीसीआर पोजेटिभ देखिएसंगै समुदायमा कयौं गुणाले संक्रमण रहेको विज्ञहरुको भनाई छ । अहिलेकै क्रममा यो संख्या बढ्दै जाने हो भने अबको तीन महिनामा २ लाख बढीमा संक्रमण हुने देखिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्ले कोरोना संक्रमणबाट जोगिने उपाय भनेकै स्वास्थ्य मापदण्ड अपनाउने विषयमा अनुशासित बन्नु हो भन्छन् ।

काठमाण्डौं उपत्यका सहित विभिन्न जिल्लाका अस्पतालहरु कोरोना संक्रमणका सिकिस्त बिरामीले भरिन थालेका छन् । अस्पतालमा भर्ना भएका धेरै बिरामीलाई आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने देखिएको छ । यसैगरी सिकिस्त बिरामीहरुको संख्या बढ्दै गएमा अस्पतालहरुको पूर्वाधारले धान्न नसक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि पनि कोरोना संक्रमण उच्च विन्दुमा पुग्दा अस्पतालबाट सेवा पाउन मुस्किल भएको थियो । अहिले सिकिस्त बिरामीको संख्या बढेकाले अस्पतालहरुमा शैया नपाउने र उपचार नपाएर ज्यानै जान सक्ने भन्दै सुरक्षित हुन विज्ञहरु सुझाउँछन् । नेपालमा देखिएको डबल म्युटेन्ट एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडै सर्ने विज्ञको भनाई छ । पहिला बनेको रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने भाइरसका कारण जोखिम अझै बढेको उनीहरुको भनाई छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा महेन्द्र श्रेष्ठ कोरोना संक्रमण नियन्त्रणका लागि केही रणनीति कडाईका साथ लागु गर्नुपर्ने बताउँछन् । हवाई, स्थल लगायत मार्गबाट मूलुक भित्रिनेमाथि कडाई गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङ बढाउनु र आइसोलेसनमा बस्नु नै कोरोना संक्रमणबाट बच्ने उपाय रहेको श्रेष्ठको भनाई छ ।

कोरोना भाइरसका जुनसुकै भेरियन्ट भएपनि सावधानी अपनाउन सके संक्रमणबाट बच्न सकिन्छ । सुरक्षित तवरले मास्क लगाउने, दुरी कायम गर्ने, बेलाबेला साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने र भिडभाडमा नजाने हो भने संक्रमणबाट बच्न सकिने चिकित्सकको भनाई छ । मास्कको समुचित प्रयोग गर्न पनि उनीहरुले सुझाएका छन् । कोरोना संक्रमणबाट बच्न संक्रमण हुने खालका गतिविधि नगर्नु नै उत्तम उपाय हो । त्यसकारण सकेसम्म घरबाट बाहिर ननिस्कौं र निस्कनुपरे पनि स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरौं । 


प्रतिक्रिया