'बाजीगर ओली'

वैशाख २८, २०७८ | काठमाडौं

पार्टीभित्र व्यापक अन्तरकलह र संसदमा आफ्नो पक्षमा बहुमत नभएको समयमा पनि प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिने अवस्थामा किन पुगे ? के बाध्यता आईलाग्यो ओलीलाई सो निर्णयमा पुग्न ? धेरैलाई आश्चर्यमा पार्दै राजनीतिका शातिर खेलाडी ओलीले यी निर्णय लिनका पछाडि मुख्य २ कारण छन् । एक, बाँकी २ वर्ष आफ्नै नेतृत्वमा सरकार चलाउने । दुई, मुलुकलाई निर्वाचनमा जान बाध्य पार्ने र त्यसको नेतृत्व आफैंले गर्ने । त्यसैको छनक प्रधानमन्त्री ओलीले हिजो संसद बैठकमा पनि दिए– ‘प्रतिनिधिसभाको माया भए मलाई विश्वासको मत देऊ ।’

बाँकी २ वर्ष सत्तारोहण गर्ने ओलीको गेम प्लान संसदमा विश्वासको मत लिन चुकेबाट फेल खाइसकेको छ । तर, मुलुकलाई निर्वाचनमा होम्ने र चुनावी सरकारको नेतृत्व आफैंले गर्ने उनको मनसुबा जिवित मात्रै हैन थप बलशाली हुन पुगेको छ । जनता समाजवादी पार्टीका नेताहरुलाई एकै ठाउँमा उभिन नसक्ने अवस्थाको सिर्जना गर्नुमा पनि ओलीकै हात छ । 

मधेशका माग पूरा गर्ने कामको थालनी गरेजस्तो गरेर महन्थ ठाकुर, राजेन्द्र महतोलाई कम्तिमा आफूविरुद्ध नजाने वातावरण ओलीले अलि पहिले नै निर्माण गरिसकेका थिए । त्यही भएर पनि ठाकुर र महतो लगायत पूर्व पार्टी राजपाका सांसदहरु विश्वासको मतको चुनावमा तटस्थ बस्ने अवस्था आयो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि समयसीमा सहित आह्वान गरिसकेपछि जसपाको मत निर्णायक हुनेमा कुनै द्विविधा छैन । संसदमा हाल कायम रहेको सांसद संख्या २ सय ७१ मा बहुमत पुर्‍याउन काँग्रेस र माओवादी केन्द्रमात्रै मिलेर पुग्दैन । सिंगै जसपा एकै ठाउँ उभिने अवस्थामा मात्रै गठबन्धनको सरकार बन्ने हो । 

कथङ्कदाचित् एमालेको माधव नेपाल खेमाले सांसदबाट राजीनामा दिने आत्मघाती निर्णय गर्‍यो भनेमात्र अहिलेकै अवस्था जसपाको एउटा धार बिना सरकार बन्ने हो । आफ्नो राजनीति खरानी बनाएर ओलीसँग प्रतिशोध साध्नमात्रै एमालेजन त्यो कठोर एवं अप्रिय निर्णयमा पुग्दैनन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन नै उनीहरुले सामूहिक राजीनामाको अस्त्र प्रयोग नगरेका हैनन् । आफ्नै खेमाभित्र विरोध भएपछि नेपाल समूह वीरतापूर्वक २ कदम पछि हटेर संसदमा अनुपस्थित रहने निर्णयमा पुगेको हो ।

राजनीति आफैंमा गणितीय जोडघटाउ मात्रै हैन । यो त सम्भावनाको खेल पनि हो । त्यसैले भनिएको हो– ‘राजनीति कहिल्यै सरल रेखामा हिँड्दैन ।’ ओलीलाई यति हेक्का नहुने कुरै भएन । अहिलेको अवस्थामा एमाले बाहेकको गठबन्धन भनेको भ्यागुताको धार्नी हो भन्ने ओलीले राम्ररी बुझेका छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवा अहिले पनि चुनावको पक्षमा छन् । चुनावी सरकारको नेतृत्व गर्ने आफ्नो योजना सफल नभए कोरोनाको महामारी नियन्त्रण गर्न नसकेको अपजसको भारी बोक्न सत्ताको नेतृत्व उनका लागि पनि प्रिय हुन सक्दैन । ओलीकै नेतृत्वमा चुनावमा जाँदा काँग्रेसलाई खासै हानी पनि छैन । 

ओली नै नेपाली राजनीतिका निर्विकल्प नेता हुन् भन्ने सन्देश जनतामा प्रवाह हुन्छ कि भन्ने डर मात्रै देउवालाई हो । नत्र, अलोकप्रियताको शिखरमा रहेको सत्तारुढ दलले संसद विघटन गरेर चुनावमा जान निर्णय गर्दा प्रतिपक्षी दल दु:खी हुनुपर्ने केही छैन ।

प्रतिनिधिसभाको विश्वास नभए पनि त्यसको बनोट र अंक गणितले फेरि एकपटक नेपालको राजनीति र सत्ता समीकरणलाई ओलीकै वरपर घुमाएको छ । हिन्दीमा एउटा कहावत छ– हारेर पनि जित्नेलाई बाजीगर भनिन्छ । ओलीले संसदमा पाउन नसकेको विश्वासको मत कतै बाजीगर बन्नका लागि त हैन ? 


प्रतिक्रिया