सत्ता मोह, कुर्सी मोह र अहंकार छोड्, जनमतको कदर गर

जेष्ठ १५, २०७८ | काठमाडौं

संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । शाह वंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको दिनको सम्झनालाई प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाईदै आएको छ । 

सशस्त्र विद्रोहमा रहेको तत्कालीन माओवादीसँगको १२ बुँदे समाजदारी र २०६२/६३ को जनआन्दोलनको जगमा स्थापित गणतन्त्र १४ वर्षमा प्रवेश गरे पनि मुलुक कठिन अवस्थाबाट टाढा रहन सकेको छैन । यति बेला जनआन्दोलन र १२ बुँदे सम्झौताको औचित्यमाथि समेत प्रश्न उठन नथालेको होइन् । 

राजा ज्ञानेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाई निरंकुशता लादेपछि तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भारतको नयाँ दिल्लीमा १२ बुँदे समझदारी भयो । 

सोही समझदारीको जगमा टेकेर १९ दिनसम्म चलेको जनआन्दोलनले अन्तत: राजालाई जनताको नासो जनतालाई नै सुम्पिन बाध्य पार्‍यो । फलस्वरुप मुलुक लोकतन्त्र हुँदै गणतन्त्र स्थापनाको लागि बाटो खुलेको हो । गणतन्त्रको महसुस जन–जनले गर्ने गरी नेताले परिमाजर्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।

व्यवस्था परिवर्तनसँगै जनताले परिवर्तनका लागि नयाँ मार्ग खुलेको महसुस गरेपनि साढे एक दशकको अवधिमा गणतन्त्रको अनुभव संगाल्न पाएनन् । संविधान सभाको दुईवटा चुनाव, स्थानीय, प्रदेश र संघीय संसदको चुनावको अनुभव बाहेक उनीहरुसँग कुनै नयाँ अनुभव छैन । 

गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धी के हो त ? भन्ने प्रश्न आज पनि जनताले खोजिरहेका छन् । तत्कालीन राजनीतिक दल, शहिदको त्याग र बलिदानी तथा नेपाली जनताको साथबाट सिर्जित गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुको सट्टा राजनीतिक दलहरु अहिले एक अर्काको उछितो काट्नमै ब्यस्त छन् । यो कुरा दाङका सनत घिमिरेलाई पटक्कै चित्त बुझेको छैन । 

राजतन्त्र फाल्न एक ढिक्का भएका दलहरु प्राप्त उपलब्धीलाई संस्थागत गर्न र जनताद्वारा लेखिएको संघीय गणतन्त्रात्मक संविधान कार्यान्वायन गर्न अप्ठेरोमा परेको भान भएको सुनाउँछन् काभ्रेका निराजन लुइँटेल । व्यवस्था परिवर्तन भएपनि जनताले पूर्ण रुपमा स्वतन्त्रताको महसुस भने गर्न नपाएको उनी बताउँछन् ।

दाङका घिमिरे र काभ्रेका लुइँटेलको भनाईबाट प्रष्ट हुन्छ, किन जनतालाई सुख शान्ति र समृद्धी अनुभव गराउन राजनीतिक दलहरु पछि परेका छन् । गणतन्त्र भन्दा पनि संवैधानिक राजतन्त्र नै ठिक भन्ने करीब तीन करोड जनताबाटै गाइँगुइँ उठ्न थालेको छ । गणतन्त्रको लाभ सामान्य नागरिसम्म पुग्नु त परको कुरा छायाँ समेत आफूहरुले महसुस गर्न नसकेको बताउँछन् झापाका चन्द्र भण्डारी ।

लामो संघर्षबाट गणतन्त्र आएपनि नेता तथा साशकहरुले त्यसलाई सत्ताको भर्‍याङ मात्रै बनाउँदै आएकोमा पर्वतका राजिव लामिछाने वाक्क दिक्क छन् । तर, व्यवस्था कै विरुद्धमा लाग्नुपर्ने समय नभएको उनी बताउँछन् । आम नागरिकले राज्यबाट पाउनुपर्ने अधिकार दिए मात्र त्यो नै गणतन्त्रको सच्चा सम्मान हुने बताउँछन् सिन्धुलीका रामहरी कोइराला ।

जनभावनाको कदर गर्दै उनीहरुका सपनालाई साकार पार्न ब्यक्तिगत स्वार्थ भन्दा दल तथा तीनका कार्यकर्ता माथि उठन सके गणतन्त्र संस्थागत हुने थियो र, सयौं ज्ञानेन्द्र जन्मिएको भान आम जनमानसबाट चिर्न सकिन्थ्यो । त्यसैले सत्ता मोह, कुर्सी मोह र अहंकार छोडौं जनमतको कदर गरौं ।


प्रतिक्रिया