नेपाली कांग्रेसमा १४ महाधिवेशन केन्द्रित छलफल तीब्र

असार १६, २०७८ | काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सभापतिका लागि असार १६ गते बुधबारसम्म ७ जना नेताहरु आकांक्षी देखिएका छन् । यसअघिको १३ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला सभापतिको आकांक्षी थिए । अहिले थप चार जना नेताहरुले सभापतिमा उठ्न कसरत शुरु गरिसकेका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोईराला र कांग्रेस पुर्ब महामन्त्री प्रकाशमान सिह बीचको छलफलले तीब्रता पाएको छ । सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि आगामी महाधिवेशनलाई मूलुकमा हुने चुनावको तयारी स्वरुप हेर्नुपर्ने बताउँछन् ।

कांग्रेसको अहिलेसम्मको इतिहासमा नेतृत्व चयनमा उम्मेदवारबीच छलफल भएर सहमतिको प्रयास हुने प्रचलन रही आएको देखिन्छ । त्यसो हुन नसके साझा धारणाका आधारमा नेतृत्व चयन हुनुपर्ने नेता निधिको भनाई छ ।

सभापतिका अर्का प्रत्यासी नेता शेखर कोइराला १४ औं महाधिवेशन संघारमै आइसके पनि पार्टीभित्र समस्या व्याप्त रहेको बताउँछन् । क्रियाशिल सदस्यताको विषय समेत टुंगिनसकेको नेता कोइरालाको भनाई छ । स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व आउनु पर्ने नेता कोइरालाको भनाई छ ।

सभापति शेर बहादुर देउवाले पनि १४ औं महाधिवेशनमा पुन: सभापतिका लागि आफ्नो दाबेदार प्रस्तुत गरेका छन् । दोश्रो पटकसम्म एउटै पदमा दाबी गर्न पाउने कांग्रेसको विधान अनुरुप सभापति देउवाले पुन: दाबी प्रस्तुत गरेको भन्दै अन्य नेताले पनि यसलाई सामान्य रुपमा लिएका छन् । १३ औं महाधिवेशनमा पनि सभापति पदका लागि दाबी प्रस्तुत गरेका नेता कृष्ण सिटौला १४ औं महाधिवेशनको लागि तयारी अघि बढीसकेको बताउँछन् ।

नेपाली कांग्रेसभित्र रहेको संस्थापन र इतर पक्षबीचको मतभेद १४ औं महाधिवेशनमा पनि देखिने निश्चित प्राय: छ । सभापतिका आकांक्षीको संख्या धेरै देखाएर अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु भन्दा पनि स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्नु अहिलेको अवस्थामा वुद्धिमत्तापूर्ण निर्णय हुने कतिपयको भनाई छ । केन्द्रीय समिति चयन गर्ने महाधिवेशन प्रतिनिधिको छनौट भइसकेपछि आकांक्षीको संख्या घट्ने पनि कतिपयको भनाई छ । कांग्रेस विश्लेषक सुदर्शन आचार्य मूलुुकको अहिलेको अवस्थालाई मध्यनजर गरेर नेपाली कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार प्रस्तुत गरेर भोलिको आम निर्वाचन, प्रदेश निर्वाचन र स्थानीय निर्वाचनमा असर गर्ने काम गर्न नहुने बताउँछन् ।

तीन खेमामा विभाजित कांग्रेसभित्र पनि महाधिवेशनको विषयलाई लिएर नेताहरुबीच संवाद हुनु स्वभाविक हो । तर संवाद बढ्दै गएर सहमति टर्दै जाने हो भने उपलब्धी शुन्य हुने सम्भावना पनि उत्तिकै रहन्छ । र, सबैभन्दा महत्वपूर्ण कुरो भनेको तीन नेताबीच भेटघाट र छलफल बाक्लिए पनि उनीहरु एकले अर्कालाई सघाउने वातावरण बन्छ कि बन्दैन भन्ने मुख्य प्रश्न हो । त्यसो हुन नसके सभापतिमा देउवाले दोस्रो कार्यकाल लम्ब्याउनेमा कुनै शंका छैन । 


प्रतिक्रिया