विद्यार्थीको भौतिक उपस्थितिमा पढाई नहुँदा पनि चर्को शुल्क असुल्दै निजी विद्यालय

असार २६, २०७८ | काठमाडौं

कोरोना संक्रमणका कारण विद्यालयहरुले सञ्चालन गरेको वैकल्पिक सिकाई अन्तर्गतको भर्चुअल कक्षामा अझै पनि सबै विद्यार्थी समेटिन सकेका छैनन् । शहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुलाई कक्षा लिन सम्भव भए पनि दुर दराजमा रहेका विद्यार्थी यसबाट बञ्चित हुनु परेको छ । यही बखत सीमित आम्दानी भएका अभिभावकमाथि आफ्ना नानी बाबुलाई कक्षामा सहभागि गराउनकै लागि पनि आर्थिक बोझ थपिएको छ । अनलाइन कक्षामा सामेल हुनका लागि आवश्यक न्युनतम सामग्री जुटाउनका लागि पनि अभिभावकलाई आर्थिक अभिभारा बढेको छ । ल्यापटप, मोबाइल, विद्युत कटौती हुँदा प्रयोग हुने इन्भर्टर, इन्टरनेट आदि इत्यादि गरेर अभिभावकले बाहिरी खर्च बेहोर्नु परेको हो । यही अवस्थामा कतिपय विद्यालयले शुल्क बढाउँदा अभिभावकले त्यसको विरोध गरेका छन् । काठमाण्डौंको तिलगंगा स्थित पारागन पब्लिक स्कुलले गत वर्षको तुलनामा शुल्क वृद्धि गरेपछि अभिभावक विरोधमा उत्रिएका छन् । कोरोना संक्रमणको अहिलेको अवस्थामा सबै मारमा परीरहेका बेला स्कुलले शुल्क बढाएको अभिभावकको गुनासो छ ।

पारागन स्कुल त एउटा उदाहरण पात्र मात्र हो । नियमनकारी निकायले चासो नदिंदा शुल्क वृद्धि गरेर कतिपय निजी विद्यालयले अभिभावकको ढाड सेकेका छन् । शुल्कका विषयमा विद्यालय सञ्चालकहरु भने अडान कायम राख्न माहिर देखिन्छन् । गत वर्षको चैत्रदेखि नै विद्यालयको गतिविधि बन्द हुन पुग्दा विद्यालयको अस्तित्व जोगाउनकै लागि पनि शुल्क लिएको पारागन स्कुलका प्रवन्ध निर्देशक शाकिर उद्धिन बताउँछन् ।

विद्यालयले भने शुल्क नदिएको भन्दै विद्यार्थीलाई अनलाइन कक्षामा समेत बस्न नदिएको अभिभावकले गुनासो गर्ने गरेका छन् । एउटै कक्षाका शुल्क तिरेका विद्यार्थीले भने अनलाइन कक्षा लिन पाइरहेका छन् भने शुल्क तिर्न नसकेका विद्यार्थी पढ्न पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित भएको अभिभावक बताउँछन् ।

कोरोना भाइरस संक्रमणका कारण अनलाइन कक्षामा परिणत भएको विद्यालयको समग्र शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन तर्फ भने विद्यालयले ध्यान नदिएको अभिभावकको गुनासो छ । विद्यालयले अभिभावक र विद्यार्थीसंग कसरी हुन्छ शुल्क असुल्नुपर्छ भने जस्तो व्यवहार गर्ने गरेको पनि उनीहरु बताउँछन् । नियमनकारी निकायको अनुमति बेगर निजी विद्यालयले आफूखुशी बढाएको शुल्क मान्य नहुने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाई छ ।

अहिलेको अवस्थामा शुल्क बढाउने काम उचित नहुने एन प्याव्सनका महासचिव सुवास न्यौपाने बताउँछन् । अभिभावकले पनि कुनै बहाना नबनाई समयमा शुल्क बुझाउँदा शुल्कका विषयमा विवाद नै नहुने न्यौपानेको भनाई छ ।

काठमाण्डौं उपत्यकाकै कतिपय नाम चलेका र ठूला भनाउँदा निजी विद्यालयले शुल्क बढाएर लिएर अभिभावकले गुनासो गरेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमा पढाई नहुँदा पनि निजी विद्यालयले विभिन्न बहानामा शुल्क असुल्ने गरेको उनीहरुको भनाई छ । कतिपय विद्यालयले त कोरोना महामारी तयारी स्वरुप शुल्क असुलेको पनि पाइएको छ । शुल्क नियमन गर्ने अधिकार सम्पन्न स्थानीय तह निष्क्रिय भइदिंदा पनि यो विवाद देखिएको कतिपयको भनाई छ । शुल्कको विषय विद्यालय, अभिभावक, विद्यार्थी सबैसंग जोडिने गर्दछ । कोरोना संक्रमणका कारण घरमै बसेर पढ्न बाध्य विद्यार्थीलाई यस्ता विषयले दीर्घकालिन रुपमा प्रत्यक्ष असर गर्ने देखिन्छ । त्यसकारण पनि विद्यार्थीको पढाईमा दख्खल पुग्ने यस्ता काम कुनै पनि पक्षबाट हुनुहुन्न । 


प्रतिक्रिया