‘अबको दुई साताभित्र चीन र जापानबाट ३२ लाख डोज खोप आउने’

श्रावण १८, २०७८ | काठमाडौं

सरकारले आगामी असोज मसान्तभित्र विभिन्न देशबाट कोरोनाविरुद्धको २ करोड डोज खोप ल्याउने तयारी गरेको छ । खोप वितरण र व्यवस्थापनलाई प्राथमिकता दिंदै सरकारले आगामी माघसम्ममा ५ करोड खोप ल्याउने गृहकार्य शुरु गरेको हो । स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारी नियन्त्रणसम्वन्धी कार्ययोजना सार्वजनिक गर्दै खोप ल्याउने सरकारी गृहकार्य लगायतबारे जानकारी गराउनुभएको हो ।

सरकारी तथ्याङ्क अनुसार, नेपालमा हालसम्म कोभिड १९ विरुद्ध ९७ लाख बढी खोप भित्रिसकेको छ । जसअनुसार भारतबाट अनुदानमा १० लाख कोभिसिल्ड, नेपाली सेनामार्फत् भित्रिएको अनुदानको एक लाख कोभिसिल्ड, चीनबाट अनुदानमा १८ लाख, गाभी सुविधा मार्फत् ३ लाख ४८ हजार कोभिसिल्ड, अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार डोज, भारतबाट खरिद गरिएको १० लाख डोज कोभिसिल्ड तथा चीनबाट खरिद गरिएको भेरोसेलको ४० लाख खोप छन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार अबको दुई साताभित्र चीन र जापानबाट ३२ लाख डोज खोप आउने भएको छ ।

सरकारको प्राथमिकता अहिले खोपको सहज उपलव्धता र वितरण रहेको भन्दै आफ्नो प्राथमिकता त्यसैमा केन्द्रीत रहेको उहाँको भनाई थियो । मन्त्रालयका अनुसार हाल टेकुको स्टोरमा ३ लाख ५० हजार डोज, प्रदेशका स्टोरहरुमा १३ लाख र ७७ वटै जिल्लामा १८ लाख डोज खोप मौज्दात छ । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाई जनसंख्या र चैत मसान्तसम्म सबैलाई खोप लगाउने गरी व्यवस्थापनको काम अघि बढाएको हो । खोपको उपलब्धतासंगै जिल्लाहरुमा खोप लगाउनेको लाइन बढेको मन्त्रालयका सचिव डा रोशन पोखरेलको दावी छ ।

सरकारले अनुदान र खरिद प्रक्रिया दुवैबाट खोपको व्यवस्थापन गरिरहेको छ । यसको अलावा कोभ्याक्स सुविधा मार्फत हरेक गरिब मूलुकले २० प्रतिशत जनसंख्याका लागि खोप पाउने व्यवस्था छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह लगात सहभागितामा सरकारले थप दखोप ल्याउने तयारी गरेको बताउनुहुन्छ ।

काठमाण्डौं उपत्यका लगायत मूलुकभरका केन्द्रमा खोप लगाउनेको लाइन लामो हुने गरेको छ । खोपको उपलब्धता बढेको आधारमा सरकारले चैत्र मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य अघि सारेको छ । एक डोज मात्र लगाए पुग्ने अमेरिकी अनुदानको जोनसन एण्ड जोनसन कम्पनीको खोप भित्रिएपछि आम मानिसमा उत्साह समेत देखियो । उक्त खोपबारे शुरुवाती दिनमा आशंका उत्पन्न भएपनि अहिले भने सामान्य अवस्था छ । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल जोनसन एण्ड जोनसनको खोपलाई लिएर आशंका गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

पछिल्लो समय उमेर समूहका आधारमा सरकारले खोप दिन शूरु गरेसंगै सर्वसाधारणलाई सहज भएको देखिन्छ । पछिल्लो तथ्यांक अनुसार २० लाख जना भन्दा बढीले पूर्ण मात्रा तथा ४१ लाख भन्दा बढीले पहिलो मात्रा खोप लगाइसकेका छन् । यही रफ्तारमा सरकारले खोप उपलब्ध गराउन सके खोप लगाउने उमेर समूहका सबैले आगामी केही महिनाभित्र खोप पाउने निश्चित छ । कोरोना महामारीको तेस्रो लहर शुरु हुन सक्ने प्रक्षेपणका वीच आगामी दिनमा संयमित र सुरक्षित भई खोप लगाउनुको विकल्प छैन । त्यस्तै, पछिल्ला दिनमा संक्रमितको संख्या वृद्धि भइरहेकाले संक्रमण नियन्त्रण र रोकथामतर्फ पनि सरकारको ध्यान जान जरुरी छ । 


प्रतिक्रिया