स्यानिटरी प्याड नि:शुल्क उपलव्ध भएपछि कक्षाकोठामा छात्राको उपस्थिति बढ्दै

श्रावण २९, २०७८ | काठमाडौं

सामुदायिक विद्यालयमा पढ्ने महिनावारी हुने उमेर समूहका छात्राले स्यानिटरी प्याड पाउन थालेपछि कक्षामा उपस्थिति निरन्तर हुने गरेको विद्यालयहरुले जनाएका छन् । सरकारले सामुदायिक विद्यालयका छात्रालाई स्यानीटरी प्याड नि:शुल्क बाँड्ने व्यवस्था गरेसंगै अधिकांश छात्राहरु यो सुविधाबाट लाभान्वित भएका छन् । महिनावारीको समयमा विद्यालय जानबाट बञ्चित हुनुपर्ने समस्या स्यानीटरी प्याडले सल्टाएको छ । कार्यक्रम प्रभावकारी भएपनि विद्यालयको पुर्वाधार लगायतका न्युनतम सुविधा नहुँदा उद्धेश्य पुरा हुनेमा आशंका पैदा भएको छ ।

काठमाण्डौंको टेकुस्थित विश्व निकेतन उच्च माविको कक्षा १२ मा अध्ययनरत छात्रा एलिसा थापा स्यानिटरी प्याडको उपलब्धताले महिनावारी हुने समय झेल्नुपर्ने समस्याबाट छुटकारा पाएको बताउँछिन् । पर्वतको विश्वज्योती माविको कक्षा १० मा अध्ययनरत छात्रा नम्रता सुवेदीको अनुभव पनि फरक छैन ।

तर पर्वतकै जनता सुदर्शन माविमा कक्षा १० मै पढ्ने अर्की छात्रा कविता पौडेल यो कार्यक्रम बारे उति जानकार छैनन् ।

विद्यालय गइरहेका किशोरीहरूको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो । सामुदायिक विद्यालयका छात्राहरुलाई महिनावारीको समयमा प्रयोग गर्न नि:शुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रम शुभारम्भ भएको ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा महिनावारीका समय छात्राहरु विद्यालयबाट घर जाने जस्ता समस्या न्युन भएको बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रममा मूलुकभरका विद्यालयमा लागु गर्न घोषणा गरिएको थियो । नेपालका करिब ८१ प्रतिशत सामुदायिक विद्यलायहरूमा मात्र शौचालयको सुविधा रहेको अध्ययनहरूले देखाएका छन् । करिब ३१ प्रतिशत सामुदायिक विद्यालयहरूमा मात्र छात्राहरूका लागि छुट्टै शौचालय रहेको सरकारी आँकडा छ । रौतहटको चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी पछिल्लो समय सामुदायिक विद्यालयको भौतिक संरचना समेत लैंगिक मैत्री हुन थालेकाले सेनिटरी प्याड वितरण कार्यक्रम प्रभावकारी रहेको बताउनुहुन्छ ।

शौचालय, पानी र स्यानिटरी प्याडजस्ता आधारभूत आवश्यकताहरू उपलब्ध नभएका कारण विकासोन्मुख राष्ट्रका छात्राहरू महिनावारी भएका समयमा विद्यालय नजाने प्रवृति रहेको अध्ययनहरूले देखाएका छन् । काठमाण्डौंको टेकुस्थित विश्व निकेतन उच्च माविमा महिनावारी हुने उमेर समूहका १२ सय हाराहारीमा छात्रा अध्ययरत छन् । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल सरकारले व्यवस्था गरेको सेनिटरी प्याड वितरण कार्यक्रमले विद्यार्थीका साथै विद्यालयलाई पनि फाइदा भएको बताउनुहुन्छ ।

सरकारले सेनिटरी प्याड किन्नका लागि रकम स्थानीय तहमार्फत सामुदायिक विद्यालयहरुमा उपलब्ध गराउँदै आएको छ । विद्यालयहरुले आवश्यकता अनुसार स्यानिटरी प्याड छात्राहरुलाई उपलब्ध गराउने गरेको छ । कतिपय विद्यालयमा छात्राको लागि छुट्टै शौचालय छैन । छुट्टै शौचालय भएको स्थानमा पानीको समस्या छ । विद्यालयहरूमा प्याड प्रयोग गरेपछि फ्याल्नका लागि उचित व्यवस्था पनि छैन । त्यसैले यी सबै कुराको राम्रो पबन्ध्र तर्फ सरकारको ध्यान जान जरुरी छ । प्रबन्ध नहुँदासम्म यो कार्यक्रमले जुन उदेश्य लिएको छ, त्यो पुरा हुन सक्दैन । 


प्रतिक्रिया