‘खोप कार्ड अनिवार्य गरेपछि लगाएकाले पनि खोप लगाउन थाले’

पुस २९, २०७८ | काठमाडौं

सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुदे आदेश जारी गरेको थियो । सोही आदेशानुसार केही दिन यता सार्वजनिक स्थलमा भेला हुन कडाई गरिएको छ । सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । खोप कार्ड अनिवार्य गरेपछि सेवा लिनैका लागि भए पनि सर्वसाधारणले पुन: खोप लगाउन थालेका छन् । 

सरकारले अस्पताल तथा खोप केन्द्रहरुमा गएर खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । सवै नागरिकलाई खोपको पहुँचमा पुर्‍याउने व्यवस्था भईसकेको भन्दै मन्त्रालयले आफुलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन नागरिकलाई आग्रह गरेको हो । कोभिड १९ विरुद्धको खोप कार्यक्रममा नागरिकलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक स्थलमा आगामी माघ ७ गते देखि खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार काठमाण्डौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ४२ छ । यस्तै ललितपुरमा १ हजार ५ सय ९१ छ । काठमाण्डौं, ललितपुर, भक्तपुर, कास्की र मोरंगमा ५ सय भन्दा बढी कोभिड १९ संक्रमित उपचारार्थ रहेको मन्त्रालयले जनाएको छ । यस्तै २ सय भन्दा बढी संक्रमित उपचारार्थ जिल्ला ६ वटा छन् । ७७ मध्ये मुगु जिल्ला मात्र कोरोना संक्रमणबाट अछुतो छ । यसअघिका लहरमा कोरोना संक्रमण दर उच्च बन्न थालेपछि सरकारले लकडाउन गरेको थियो । तर अहिलेकै अवस्थामा लकडाउन गरीनहाल्ने स्वास्थ्य मन्त्री बिरोध खतिवडको भनाई छ ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो ।

सरकारले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ अपनाउन आग्रह गर्दै आएको छ । मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी जनस्वास्थ्यका मापदण्ड र खोप बाहेक अन्य प्रभावकारी उपाय नरहेको भन्दै कडाईका साथ लागु गर्न आग्रह गर्नुहुन्छ । खोपको मात्रा पुरा गरेकाले जथाभावी खोप लगाउदा स्वास्थ्यमा दीर्घकालिन प्रभाव पर्न सक्ने भन्दै सजगता अपनाउन पनि उहाले आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यही पुस २० गते संक्रमितको संख्या ३ सय ९३ थियो । ९ दिनपछि बिहिबार सो संख्या बढेर ३ हजार ५ सय ५३ पुुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसीले गरेको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कार्यक्रम नगर्न समेत निर्देशन दिएको छ । कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले अपनाएको रणनीतिका साथै कार्डकै लागि बढेको भीड पनि नियन्त्रण गर्न आवश्यक देखिन्छ । 


प्रतिक्रिया