दलहरुको चुनावी तयारी तीव्र

फाल्गुन २५, २०७८

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । आयोगमा १ सय ११ दल दर्ता रहेको तथ्यांक छ । आगामी वैशाख ३० मा हुने निर्वाचनमा भाग लिन दल दर्ताका लागि आयोगले १५ दिनको समय दिएको थियो । पछिल्लो समय मुख्य राजनीतिक दलहरु चुनावी माहौलमा होम्मिसकेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले बुधबार स्थानीय तहको चुनावी कार्ययोजना सार्वजनिक गरेको छ । सो पार्टीका प्रवक्ता डा प्रकाशसरण महतले पहिलो पटक भोटर बन्न गइरहेका युवाहरुका लागि तालिमको व्यवस्था गर्ने जानकारी दिनुुभयो ।

संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नु पर्ने विषय उठेपछि सरकार र निर्वाचन आयोग केही समय अलमलमा परेपनि चुनावको मिति घोषणा गरेलगत्तै दलहरु तयारीमा जुटेका हुन् । भर्खरै केन्द्रीय समितिको बैठक सम्पन्न गरेको माओवादी केन्द्रले सम्पूर्ण शक्तिलाई निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ । नेता दिनानाथ शर्माले पार्टीले निर्वाचित क्षेत्रमा केन्द्रीय सदस्यलाई पठाउने समेत निर्णय गरीसकेको छ बताउनुभयो । गठबन्धन दल नेकपा एकीकृत समाजवादीले चुनाव केन्द्रीत तयारी अघि बढाइसकेको छ । अध्यक्ष माधव कुमार नेपालले सम्पूर्ण ध्यान चुनाव केन्द्रीत गर्न निर्देशन दिनुभयो । केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष नेपालले चुनावका लागि तीव्र तयारी शुरु गर्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यस्तै सरकारलाई समर्थन गरेपनि गठबन्धनमा नरहेको दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि स्थानीय तहको चुनावको तयारी तीब्र पारेको छ । पार्टीका नेता केशव झा जिल्ला देखि वडा तहसम्म पार्टीले चुनावको तयारी शुरु गरीसकेको बताउनुभयो ।

पछिल्लो समय आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टी जसपाले भने पार्टीको निर्णायक बैठकपछि मात्र औपचारिक रुपमा चुनावी कार्यक्रम सार्वजनिक गर्ने भएको छ । पार्टीका नेता मनिस कुमार सुमनले यद्यपि पार्टीले आन्तरिक रुपमा भने चुनावका लागि गतिविधि बढाएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा गरे लगत्तै चुनावी अभियान शुरु गरेको हो । एमालेले अहिले पनि निर्वाचन केन्द्रीत भएर संगठनात्मक गतिविधि अघि बढाइरहेको नेता शेरबहादुर तामाङको भनाई छ ।

राष्टिय प्रजातन्त्र पार्टी राप्रपाले पनि स्थानीय तहको निर्वाचनमा सम्पूर्ण शक्तिपरिचालन गर्ने निर्णय गरीसकेको छ । फागुन ३० गतेसम्म पार्टीले आम सभा सञ्चालन गरीरहेको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठ पार्टीको सम्पूर्ण संरचनालाई क्रियाशिल तुल्याउने काम गरीरहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसंगै निर्वाचन आयोग पनि चुनावी तयारीमा जुटिसकेको छ । चुनावसंग सम्बन्धित विभिन्न गतिविधिमा व्यस्त निर्वाचन आयोगले निर्वाचन आचारसंहिता निर्माण गर्ने लगायत कार्यलाई अघि बढाएको छ । संघीय प्रणाली लागू भएपछिको दोस्रो पटकको स्थानीय तह निर्वाचनमा दलहरुबीच बन्न सक्ने समीकरणको लेखाजोखा र तल्लो तहमा भएका राजनीतिक गतिविधिबाट निर्वाचनमय वातावरण बन्दै गएको छ ।


प्रतिक्रिया