चुनावको संघारमा भारत जानेको लर्को

कार्तिक २७, २०७९ | काठमाडौं

आसन्न चुनावलाई वेवास्ता गरी वैदेशिक रोजगारीका लागि भारत जाने युवाको संख्या बढ्दो छ । उनीहरुलाई मतदान गर्नु भन्दा रोजीरोटीको पिरालो छ । खेतिपाति र चार्डपर्व विशेष नेपाल फर्किए पनि चुनावकै लागि भनेर नेपाल आउने युवाको संख्या न्यून छ । रोजीरोटीको लागि भारत जाने सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टामा डोटी घर भएका राजेश बोहरा हतारमा थिए । मुम्बई बस्दै आएका उनी देशमा रोजगारीको अवसार नपाएपछि दुई दशकदेखि उतै छन् । भोट हाल्ने दायित्वभन्दा उनलाई परिवार पाल्ने कर्तव्यले विदेश पुर्‍याएको हो । राजेश भन्छन्, ‘सानैदेखि उतैतिर गइयो यतातिर खासै काम थिएन, जग्गा, जमिन र घर केही पनि छैन, बुवाआमा वितेका थिए, उतै गएर बसियो ।’

कैलालीको गौरीफन्टा नाका हुँदै दैनिक ५ देखि ७ हजार जना भारत जान्छन् । उताबाट फर्किनेको संख्या एक हजारदेखि १५ सय हराहारी मात्रै रहेको नाकास्थित सशस्त्र प्रहरी बलले जनाएको छ । भोट हाल्न गाउँ फर्किएकाहरुमा पनि त्यति धेरै उत्साह छैन । भारतको ब्यङ्लोरबाट फर्किएका सुबेन्द्र भन्छले भने ‘चुनावको मौकामा घरपरिवारसँग भेटघट हुने र भोट पनि हाल्न पर्यो ।’

प्रहरीका अनुसार गत अक्टोबरमा पर्व विशेषमा नेपाल आउनेको संख्या २३ हजारको थियो । सोही समयाधिमा २५ हजार मानिस भारत पसे । चाड मान्न आएकाहरु पनि चुनावको परवाह नगरी भारत फर्किरहेका छन् । कोही चाहिं चुनावको बाहाना पारेर परिवारलाई भेटघट गर्न आउने पनि भेटिन्छन् । तिनै मध्येका हुन्, डडेल्धुराका राजु बोहोरा । ‘छुट्टीको मौका छोपेरा भोट नै हाल्न आएको हौं । ’ उनले भने ।

चुनावी माहोल तीव्र भइरहदा रोजगारीका लागि भारत जानेको संख्या रोकिएको छैन । चुनावी एजेण्डामा युवा स्वरोजगारका मुद्दा पटक–पटक उठाइएपनि कार्यान्वयन हुन नसक्दा युवा स्वदेशमा नअडिएका मात्रै हैनन उनीहरुमा राजनीति प्रतिको वितृष्णा बढिरहेको देखिन्छ । केहीमा भने युवा नेतृत्व आए आफ्ना समस्या सम्बोधन होला भन्ने आश पनि छ । 


प्रतिक्रिया