प्रचण्डको सत्तारोहण: खुशी छैनन् नेता कार्यकर्ता

पुस १४, २०७९

संघीय संसदको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेपछि एउटा बहसको थालनी भएको छ, त्यो हो पटक–पटक सत्तामा पुगेको माओवादी किन बलियो राजनीतिक शक्ति बन्न नसकेको हो ? पार्टी खुम्चिदै गएकाले अध्यक्ष तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि कतिपय नेता र कार्यकर्तामा खुशीको सञ्चार भएको देखिदैन, उनीहरुलाई लागेको छ–पार्टी कतै कमजोर हुँदै जाने त होइन । अवसर र चुनौती दुवैको दोसाधमा रहेकाले प्रधानमन्त्री दाहालले भने जस्तै सत्तामा आफ्नो अन्तिम इनिङमा कतिको खरो रुपमा उत्रिन सक्छन् भन्ने चासो सर्वत्र देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा प्रधानमन्त्रीको भागबण्डा नमिलेपछि एमालेको सर्मथन लिन बालकोट पुगेका दाहाल खाली हात फर्किनुपरेन ।


नेकपा विभाजनपछि उत्पन्न आक्रोश र असन्तुष्टी भुलेर एमालेसहितका दलको समर्थन प्राप्त गर्दै दाहाल तेस्रो पटक प्रधानमन्त्री भएका छन् । तर आफ्नो पार्टी अध्यक्ष मुलुकको कार्यकारी प्रमुख हुँदै सत्ताको बागडोर सम्हाल्न पुगेको अवस्था माओवादी केन्द्रकै कतिपय नेताका लागि प्रियकर लागेको छैन । लगातार सत्तामा बस्दा समेत पार्टी कमजोर हुँदै गएको दृष्टान्तसहित माओवादीका नेताहरुले दाहालको सत्तारोहणलाई लिएर असन्तुष्टि जनाइरहेका छन् । उनीहरुमध्येका एक हुन्, युवा नेता लेखनाथ न्यौपाने । पटक—पटक सरकारमा रहँदा पार्टीको सांगठनिक अबस्था कमजोर भएकाले अहिले नेतृत्व भन्दापनि सत्तासहयात्री मात्रै हुदा पनि चल्ने तर्क उनको छ । अहिले सत्ता स्वार्थका कारण कयौं नेता तथा कार्यकर्ताले बाटो फेरेको भन्दै संगठनलाई मजबुद बनाउन आवश्यक रहेको उनको भनाई छ ।

दश वर्षे सशस्त्र द्वन्द्वको राप र तापमा २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट पहिलो शक्तीका रुपमा उदाएको माओवादी केन्द्र २०७९ सालको आमनिर्वाचन सम्म आइपुग्दा तेस्रो दलमा खुम्चीएको छ । द्धन्द्धको समय होस् वा शान्तिपूर्ण राजनीतिमा, दाहाल राष्ट्रिय राजनीतिको केन्द्रमा देखिने गरेका छन् । पार्टी कमजोर हुँदा पनि आफ्नो प्रभाव कायमै राख्न दाहाल सफल भएको भन्दै माओवादीभित्र त्यसलाई उनको रणनीति र चार्तुयतासँग जोडेर हेर्ने तप्का नभएको होइन । तर सांगठनिक रुपमा कमजोर बन्दै गएको शक्ती माओवादी केन्द्र २०६४ पछिको पहिलो संविधानसभा पश्चात छिन्नभिन्न भयो । समयक्रममा मोहन वैद्य, डा.बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका कयौं नेता कार्यकताले बाटो बदलिसकेका छन् । त्यसैले ५ दलीय गठबन्धनमा समाहित भएर चुनाव लडेपनि अपेक्षाकृत नतिजा नआएको टिप्पणीहरु भइरहेका छन् । नेता हरिबोल गजुरेलले अहिलेको अबस्थामा सरकारको नेतृत्व थप चुनौति हुन सक्ने बताउँछन् ।

सरकारमा दाहालको पहिलो नेतृत्व त्यति उपलव्धी मुलक हुन सकेन । ०६५ सालमा पहिलो ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेका दाहाल तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउन खोजेपछि आफैं बहिर्गमनमा पर्दै ९ महिनामै सरकारबाट बाहिरिए । दोस्रो पटक २०७३ सालमा कंग्रेसको नेतृत्वमा प्रधानमन्त्री भएपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्दै दाहालले सहजै सत्ता हस्तान्तरण गरेका थिए । अहिले फेरि कंग्रेस नेतृत्वको गठबन्धन त्यागेर एमालेसंग मिल्न गएपछि सार्वजनिक वृत्तबाट मात्र होइन, पार्टीभित्रैबाट असन्तुष्टीका स्वर सुनिएका छन् । माओवादी केन्द्रकी नेता अञ्जना विसुङखे नेतृत्वको आकस्मीक निर्णयले तल्लो तहका नेता कार्यकर्तामा थप समस्या आउन सक्ने बताउँछिन् । 

त्यसो त, २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा विभाजनपछिको परिवर्तित अवस्थामा प्रधानमन्त्री बन्न सहयोग गर्दै दाहालले सत्ता सहयात्रा गरेका थिए । तर नेकपामा हुँदा त्यतिबेलाका अध्यक्ष केपी ओलीसँग आलोपालो प्रधानमन्त्रीको सहमति कार्यन्वयन नभएपछि पार्टी नै विभाजनको शिकार भएको थियो । २०७९ मंसिर ४ को निर्वाचनपछि फेरि देउवासँग आलोपालोको पहिलो चरणमा प्रधानमन्त्री हुन नपाएको झोंकमा दाहालले समीकरण नै फेरेका हुन् ।

७ दलको समर्थनमा साढे दुई बर्षपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तमा सिंहदरवार प्रवेश गरेका दाहालका लागि अवसर र चुनौती दुबै रहेको विश्लेषण गरिएको छ । चुनावमा एकाएक लोकप्रियता कमाएर सत्तासाझेदारीका लागि तयार भएका नयाँ शक्तिसंगको सहकार्य दाहालललाई सबैभन्दा बढी चुनौतीपूर्ण हो भनिन्छ । राजनीतिक विश्लेषक हरि रोकाले लोकप्रियताका लागि प्रधानमन्त्रीले केही निर्णय गरिहाले त्यसको प्रतिकार्यमा उनकै समर्थक विपक्षमा आउन सक्ने अवस्थालाई औल्याए ।

राजनीतिमा युटर्न गर्न माहिर भनिएका दाहालले तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि क्षणभर मै राजनीतिक कदम फेर्न सक्ने आफ्नो पुरानै शैलीलाई अवलम्वन गरेका छन् । फरक विचार र पृष्ठभूमि भएका दलहरुसंगको सत्ता सहकार्यलाई निरन्तरता दिन दाहाल खरो रुपमा उत्रिन सक्छन् वा सक्दैन भन्ने पक्षलाई बढी चासोको रुपमा हेरिएको छ । किनकी कुनै बेलाका क्रान्तिकारी र परिवर्तनका संवाहकको पहिचान बनाउँदै सिंहदरबारलाई परिवर्तन गर्न तम्सिएका दाहाललाई उल्टै सिंहदरबारले फेरिदिएको टिप्पणी स्वभाविक ठानिएको छ ।   


प्रतिक्रिया