किन लडिरहेका छन् पाकिस्तान र अफगानिस्तान ?
फाल्गुन १९, २०८२
सुनिता लोहनी
काठमाडौँ । महिनौँदेखि सिमानामा भिडन्त गरिरहेका छिमेकी मुलुकहरु पाकिस्तान र अफगानिस्तानबीच युद्ध भएको छ । सन् २०२१ मा अफगानिस्तानमा तालिवान नेतृत्वमा आएदेखि पाकिस्तानसँग सैन्य झडप बढेको हो । फेब्रुअरी २६ र २७ मा पाकिस्तानले अगानिस्तानका ठूला शहरहरुलाई लक्षित गर्र्दै राजधानी काबुल र कन्दाहारमा आक्रण गरेको छ । युद्धले दक्षिण एशिया अशान्त बनाएको छ भने त्यसले क्षेत्रीय शान्तिमा खलल पुगेको छ । तालिवानको इण्डियासँगको निकटता र कुनै बेलाको रणनीतिक सम्पत्ति बन्ने आश गरिएको तालिवान इस्लामावादको लागि किन रणनीतिक टाउको दुखाई बनेको छ ।
दशकौंदेखि अफगानी तालिबानको सबैभन्दा नजिकको मित्र पाकिस्तान रहँदै आएको थियो । भनिन्छ, इस्लामावादको मद्दतले नै सन् १९९० को दशकको सुरुमा तालिवान स्थापना भयो । कतिसम्म भने पाकिस्तानले इण्डियासँगको टकरावमा रणनीतिक साझेदार बनाउन तालिवानलाई ‘प्रश्रय’ दिदै दशकौँसम्म मलजल गर्यो । जब अमेरिका र उसको रणनीतिक साझेदार नेटोले सन् २०२१ मा अफगानिस्तान छाडे, अफगानिस्तानकोे नेतृत्वमा तालिवानको पुनः उदय भयो । त्यसमा सबैभन्दा बढी पाकिस्तान खुशी देखिन्थ्यो । किनकि उसको रणनीतिक जित भएको थियो । त्यतिबेला पाकिस्तानका तत्कालिन प्रधानमन्त्री इमरान खानले अफगानी जनताले दासत्वको बन्धन तोडेको भन्दै बधाई दिएका थिए । तर इस्लामावादको सपना तब चकनाचुर भयो, जब तालिवान सरकारको रवैया ऊप्रति परिवर्तन हुन थाल्यो । तालिवानले आशा गरे अनुसार इस्लामावादलाई सहयोग गरेन । उल्टै, तालिवान सरकारमा आएदेखि दुई देशबीच दर्जनौं पटक झडप भएका छन् । सँगै पाकिस्तानमा आतंकवादी हमला र आत्मघाती विस्फोटका घटना बढीरहेका छन् । त्यसमा अफगानिस्तानमा आधारित तेहरिक–इ–तालिवान पाकिस्तान, टीटीपी भनेर चिनिने आतंकवादी समूहको हात रहेको पाकिस्तानको दाबी छ । त्यसलाई रोक्न तालिवानले खासै सहयोग गरेको छैन र सो समूहमाथि कारबाही गर्न तालिवान सरकार इच्छुक पनि देखिदैन । पहिलो त, सन् २००७ मा पाकिस्तानमा उदय भएको टीटीपी अफगान तालिवानबाटै छुट्टीएको थियो । साथै, टीटीपीको तालिवानसँग गहिरो वैचारिक सिद्धान्त, सामाजिक र भाषिक सम्बन्ध जोडिएको छ । अर्को अफगानिस्तानको सुरक्षाको लागि टाउको दुखाई हो, इस्लामिक स्टेट खुरासान प्रान्त (आईएसकेपी) । टीटीपी लडाकुले आफ्नो मुख्य प्रतिद्वन्द्वी मानेको आईएसकेपीमा विलय हुने डर तालिवानलाई छ ।
यस बाहेक, पाकिस्तान र अफगानिस्तानबीच सीमा विवाद लामो समयदेखि कायम छ । यी दुई मुलुकबीच २ हजार ६ सय ११ किलोमिटर रहेको दुरान्द लाइन सीमाना जोडिएको छ । त्यसलाई लिएर विवाद बढेको छ । अफगानिस्तानले सो सीमालाई औपचारिक रुपमा चिन्दैन । उपनिवेशवादको समयमा पास्तुन क्षेत्रलाई गैर कानुनी रुपमा बाँडेको काबुलको तर्क छ । यी कारणले गर्दा पाकिस्तानले कुनै बेला रणनीतिक सम्पत्ति मानेको तालिवान अहिले रणनीतिक समस्यामा बनेको हो । जसले गर्दा दुई देश आक्रमणमा उत्रिएका छन् । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा रातारात हवाई आक्रमण गरेको छ । बिहिबार र शुक्रबार अफगानिस्तानको राजधानी काबुल र कन्दाहारलगायत ठूला शहरमा इस्लामावादले आक्रमण गरेको थियो । जसमा परि कम्तिमा २७४ अफगान सैन्य मारिएको इस्लामावादको दाबी छ । जवाफमा काबुलले गरेको आक्रमणमा पाकिस्तानको ५५ सैनिक मारिएको तालिवानको दाबी छ । यद्यपि, यी दुवै सूचनालाई पुष्टि गर्ने आधार निकै कम छ । तालिवान सरकारले कुनै विदेशी पत्रकारलाई त्यहाँ पहुँच दिएको छैन । त्यसैले सूचनालाई प्रमाणित गर्न र खासगरी सिमानाको विषयमा आधिकारिक क्षति विवरण पाउन चुनौती देखिन्छ । यता पाकिस्तानको सीमा क्षेत्रबाट प्रमाणित सूचना पाउन उस्तै कठिन भएको अलजजिराको टिप्पणी छ । पाकिस्तानका रक्षामन्त्रीले अफगानिस्तानविरुद्ध खुल्लमखुला युद्ध भएको घोषणा गरेका छन् । यसले युद्ध अझ चर्किने सम्भावना बढेको छ । तथापि, अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबानका नेताहरू हिंसा अन्त्य गर्न पाकिस्तानसँग वार्ता गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
यसअघि, पनि कयौँ दिनको सिमानामा सामान्य झपडपछि यी दुई मुलुकबीच सन् २०२५ अक्टोबरमा ठूलो आक्रमण भएको थियो । अन्ततः कतार र टर्कीको मध्यस्थतामा वार्तामार्फत् युद्धविराम भएपनि टिक सकेन । पछिल्लो तनावसँगै दुवै मुलुकले एक अर्कालाई आपसी सम्वन्ध र कूटनीतिलाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन् । सन् २०२५ अक्टोबर देखि दुवै मुलुकबीच व्यापार बन्द छ । पाकिस्तानका सुरक्षा अधिकारीले अफगानी लडाकुँले पाकिस्तानमा विभिन्न हमला र आत्मघाती बम विस्फोट गराइरहेको दाबी गर्ने गरेको छन् । जसले पाकिस्तानी सेना र प्रहरीलाई लक्षित गरेको बताइन्छ । रोयटर्सकाअनुसार सन् २०२४ देखि लडाकुँले बनाएका ७ वटा योजना सफल भएका छन् । ती सबै अफगानिस्तानसँग सम्बन्धीत छन् । टीटीपीले बजार, मस्जिद, हवाई अड्डा, सैन्य आधारहरु, प्रहरी चौकी, स्वाट भ्यालीलगायत अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको छ । सन् २०१२ मा मलाला युसफजाईमाथि भएको आक्रमणमा पनि टीटीपीकै हात रहेको थियो । काबुलले भने आतंकवादीलाई पाकिस्तानमा आक्रमण गर्न अफगान क्षेत्र प्रयोग गर्न अनुमति दिएको अस्वीकार गर्दैै आएको छ । यता अफगान तालिबानले पाकिस्तानले आफ्नो शत्रु इस्लामिक स्टेटबाट लडाकुलाई आश्रय दिएको बताएको छ, जुन आरोप इस्लामाबादले अस्वीकार गरेको छ ।
त्यसो त दुई मुलुकको सामरिक स्थिति हेर्दा सैन्य बलमा पाकिस्तान अगाडि छ । सयौँ युद्धपोत र लडाकुँ जहाज र उन्नत प्रविधिको कारण पाकिस्तानको सैन्य शक्ति बलियो देखिन्छ । भनिराख्नै परेन, इण्डियासँगको युद्धमा समेत पाकिस्तानले बलियो जवाफ दिएको थियो । यता तालिवानसँग पुरानो अफगान सरकार र विदेशी शक्तिले छोडेर गएको हतियार छ । प्रतिबन्ध लगाएपनि कालो बजारबाट तालिवानले केही सैन्य हतियार खरिद गरेको थियो । यद्यपि, कुनै बेला विद्रोही लडाकुँ हुँदा तालिवानले २० वर्षभन्दा बढी अमेरिका र नेटोबाट बचेको थियो । त्यसैले तालिवान गुरिल्ला युद्धशैलीमा पोख्त छ भन्ने प्रमाणित नै छ । इस्लामावादको युद्धमा उसले सोही कौशल पछ्याएको विश्लेषकहरु बताउछन् । अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थाको तथ्यांक अनुसार पाकिस्तानसँग ६ लाखभन्दा बढी सक्रिय सैनिक छन् । ६ हजारभन्दा बढी बख्तरबन्द गाडी, र ४ सय भन्दा बढी लडाकु विमान छन् । परमाणु हतियार मात्र पाकिस्तानसँग १७० वटा छ । अफगानिस्तानसँग न त परमाणु हतियार, न त नौसेनासम्बन्धी स्रोत र बख्तरबन्द गाडी नै छन् । सैन्य क्षेत्रमा अफगानिस्तानको ० दशमलब १४५ अमेरिकी बिलियन डलर बराबरको बजेट छ भने पाकिस्तानको ९ दशमलब १ बिलियन डलर छ । त्यसो त अहिलेको युद्धमा तालिवानले पाकिस्तानमा आक्रमण गर्न ड्रोनको प्रयोग गरेको छ । जसले युद्धको शैली परिवर्तन गरिदिएको छ । दुई देशबीचको युद्ध कति लामो र कति परसम्म जान्छ भन्ने हेर्न बाँकी छ । विश्लेषकका अनुसार पाकिस्तानले आफ्नो सैन्य अभियानलाई तीव्र बनाउने सम्भावना छ । जबकि काबुलको प्रतिशोधले सीमापार गुरिल्ला आक्रमणको बाटो अपनाउन सक्छ । यस्तो परिस्थितिमा तालिवान र इण्डियासँगको नजिकिदो सम्वन्धलाई कतिपयले चासो साथ हेरेका छन् ।










