एनएमसीका चिकित्सकद्वारा निर्देशक र उपनिर्देशकको राजीनामा माग

जेष्ठ १८, २०७७ | काठमाडौं

नेपाल मेडिकल कलेज (एनएमसी) का चिकित्सकहरुले अस्पतालका निर्देशक र उपनिर्देशकको राजीनामा माग गरेका छन् । अस्पताल प्रशासनले दोषीलाई उन्मुक्ति दिन चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज समेत हटाएको आरोप लगाउँदै उनीहरुले अस्पतालका निर्देशक र उपनिर्देशकको राजनीनामा माग गरेका हुन् ।  

अस्पतालका निर्देशक र उपनिर्देशकले राजीनामा नदिएसम्म र आफूहरुको सुरक्षाको प्रत्याभूति नभएसम्म प्रशासनमा लगाइएको ताला नखोलिने उनीहरुले चेतावनी दिएका छन् ।


चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरुले आइतबार अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही प्रक्रियामा अस्पताल प्रशासनले नै असहयोग गरेको भन्दै उनीहरुले प्रशासनमा तालाबन्दी गरेका हुन् । 

अस्पताल प्रशासनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउनुको साटो दोषीलाई उन्मुक्ति दिन चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज समेत हटाएको आरोप उनीहरुको छ । सो फुटेज हटाउनेलाई खोजी गरी कारबाही गर्न र आफूहरुको सुरक्षाको प्रत्याभूति दिलाउन २४ घण्टे अल्टिमेटम दिएपनि अस्पताल प्रशासनले चासो नदेखाएको भन्दै चिकित्सकहरुले निर्देशक र उपनिर्देशकको राजीनामा माग गरेका हुन् । 

दोषीलाई कारबाही नभएसम्म विरोध जारी रहने र प्रशासनमा लगाइएको ताला नखोलिने नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक डा.गुन्जन खड्काले बताउनुभयो । आफूहरुको जायज माग शीघ्र पूरा गरी काममा फर्किने वातावरण मिलाउन उनीहरुले अस्पताल प्रशासन समक्ष माग गरेका छन् ।

सम्बन्धित समाचार :

नेपाल मेडिकल कलेजका चिकित्सकद्वारा प्रशासनमा तालाबन्दी 

चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज गायब


प्रतिक्रिया