नेपाली सेनाद्वारा सल्यानको दार्मामा प्रसूति गृह निर्माण

असार २०, २०७७ | सल्यान

सल्यानको दार्मा गाउँपालिकामा नेपाली सेनाले प्रसूति केन्द्र निर्माण गरेको छ । सुत्केरी हुनका लागि स्थानीय महिलालाई बाहिर जान नपरोस भनि सेनाले स्थानीय तहमा नै प्रसूति गृह निर्माण गरेको हो । 

दार्मामा प्रसूति गृह निर्माण भएपछि स्थानीयलाई जिल्ला अस्पताल जानु पर्ने बाध्यताको अन्त्य भएको छ । उनीहरुले घर नजिकैको प्रसूति गृहमा सेवा पाउन थालेका छन् । यसबाट सात सय परिवार लाभान्वित भएका छन् ।

सेनाले प्रसूति गृह निर्माण गरेपछि आगामी दिनमा गर्भवतीले ज्यानको जोखिम उठाई घरमै असुरक्षित सुत्केरी हुने तथा सुत्केरी गराउनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय पिन खडकाले बताईन । 

‘गाउँका कोही गर्भवतीलाई प्रसव पीडाले सतायो भने ५० किलोमिटर दूरी पार गरी बाग्चौर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पताल सल्यान लैजान खैलाबेला गर्नु पर्ने र एम्बुलेन्सको जोहो गर्न गाह्रो हुन्थ्यो । त्यत्ति मात्र नभई वर्षातको समयमा गाडी नचल्दा स्टेचरमा बोकेर लगि सुत्केरी गराउनु पर्ने बाध्यता थियो’ उनले भनिन ‘नेपाली सेनाले गाउँमै प्रसूति गृह निर्माण गरिदिएपछि सजिलो भएको छ ।’

दुई महिना अघि मात्र जिल्ला अस्पताल लैजाँदा बाटैमा सुत्केरी भएपछि घर फर्काउन पर्दा अनावश्यक खर्च ब्यहोर्नु परेकी सुशिला ओलीले घर नजिकै प्रसूति गृह सञ्चालनमा आएपछि गर्भवतीलाई सुत्केरी हुन मात्र नभई सुत्केरीपछि देखिने अन्य समस्याको उपचार गर्नपनि सहज भएको बताईन । गाउँमै प्रसूति गृह निर्माण भएकोमा उनले खुशी ब्यक्त गरिन् ।

विगतमा विभिन्न किसिमका समस्या भोग्दै आएका गर्भवतीले गाउँमै सहज सुत्केरी सेवा उपलब्ध गराउन सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलको संयोजन तथा सिमखर्कस्थित सबुज गण सल्यानको २५ लाख आर्थिक, प्राविधिक सहयोगमा चार कोठे प्रसूति गृह निर्माण गरिएको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । सेनाले प्रसूति गृह निर्माण मात्र नभई आवश्यक सामग्री पनि उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।  


प्रतिक्रिया