सैनामैनाका गर्भवती तथा सुत्केरीको निशुल्क कोरोना बीमा

भाद्र ३१, २०७७ | तिलोत्तमा

रुपन्देहीको सैनामैना नगरपालिकाले ‘गर्भवती तथा सुत्केरी’को नि:शुल्क कोराना बीमा गरिदिने भएको छ । नगरपालिकाले ‘उपप्रमुखसँंग महिला कार्यक्रम’ अन्तर्गत नगरभित्रका सबै ‘गर्भवती तथा सुत्केरी’ को निशुल्क कोरोना बीमा गरिदिने भएको हो । 

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै नगरपालिकाले गर्भवती र सुत्केरीको प्रतिव्यक्ति १ लाख रुपैयाँको नि:शुल्क कोराना बीमा गर्न लागिएको उपप्रमुख बीना रानाले बताउनुभयो ।

‘बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरिएको छ, उहाँले भन्नुभयो, ‘गर्भवती तथा डेढ महिनाको सुत्केरी सो कार्यक्रममा सहभागी हुन पाउने छन् ।’

नगरमा रहेका गर्भवती तथा सुत्केरीले आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ । बीमाका लागि नागरिकता र वडाको सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । बीमाको अवधि १ वर्षको हुनेछ ।


प्रतिक्रिया