वीपी प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यालय सिल

आश्विन १८, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालय र शिक्षाध्यक्षको कार्यालय सिल गरिएको छ । कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको उपकुलपति कार्यालय र शिक्षाध्यक्षको कार्यालय सिल गरिएको हो । 

प्रतिष्ठानको उपकुलपति कार्यालय र शिक्षाध्यक्षको कार्यालय प्रवेश गर्ने एउटै प्रवेद्धार रहेको छ । संक्रमित कार्यालय सहयोगी पुरुषले दुबै कार्यालयमा काम गर्दै आएका छन् । उपकुलपति कार्यालयले आइतबार एक सूचना जारी गर्दै कार्याललमा काम गर्ने फोरम्यानको गत शुक्रबार कोरोना पोजेटिभ रिपोर्ट आएकाले अर्को सूचना जारी नभएसम्मका लागि उपकुलपतिको र शिक्षाध्यक्षको कार्यालय सिल गरिएको जनाएको छ । 

संक्रमित सहयोगी पुरुषलाई केही दिनदेखि खोकी लाग्ने र जिउ दुख्ने समस्या भएपनि उनी शुक्रबार पनि नियमित काममा थिए । यसअघि गत बिहीबार आन्दोलनरत फ्याकल्टी चिकित्सकहरु र उपकुलपति कार्यालयका पदाधिकारीबीचको वार्तामा ती संक्रमित पुरुषले नै चिया, खाजा विरतण गरेका थिए । संक्रमित कर्मचारीलाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।

उपकुलपति कार्यालय र शिक्षाध्य कार्यालयमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको उपकुलपतिको सचिवालयले जनाएको छ । दुई साता अघि नै प्रतिष्ठानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा बसेका थिए ।

कार्यालय सिल भएपछि उपकुलपति गिरी र शिक्षाध्यक्ष डा. गुरु खनाल होम क्वारेन्टिनमा बसेर नियमित काम गर्ने उपकुलपतिका प्रशासनिक सल्लाहकार दिलिप भट्टराईले जानकारी दिनुभयो । यस्तै, धरान उपमहानगरपालिका–१ को वडा समिति कार्यालय पनि एक सातालाई बन्द गरिएको छ । 

वडा समिति कार्यालयका कर्मचारी र नजिकै रहेको नेपाल टेलिकम कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि बन्द गरिएको वडाध्यक्ष रोशन अधिकारीले बताउनुभयो । यसअघि धरान उपमहानगरपालिका–२, १२, १५ वडा समिति कार्यालय र उपमहानगरका घर नक्सा फाँट र सूचना विभाग बन्द गरिएको थियो ।


प्रतिक्रिया