सिन्धुली अस्पतालको सम्पूर्ण सेवा बन्द

आश्विन २१, २०७७ | सिन्धुली

स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिन्धुली अस्पतालको आकस्मिक र प्रसूति बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । केही कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारबाट आकस्मिक र प्रसूति बाहेक अन्य सेवा बन्द गरिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताउनुभयो । 

अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना संक्रमण हुन सक्ने भएकाले आपत्कालिन उपचार बाहेकका अरु सेवा बन्द गरेको उहाँले बताउनुभयो । सिन्धुलीमा कोभिड–१९ संक्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि अछुतो नरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि बुधबारबाट आकस्मिक र प्रसूति बाहेक सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । 

सिन्धुली अस्पतालमा कार्यरत नौ जनामा कोभिड–१९ संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये सात जना संक्रमण मुक्त भईसकेको र दुई जना आइसोलेसनमै उपचाररत छन् । मंगलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको थियो । 

सिन्धुलीमा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भईसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

स्वाब परीक्षणका लागि दिएका ४२ जनाको भने पीसीआर रिपोर्ट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोभिड–१९ संक्रमितको संख्या उकालो लागिरहेको छ । यता कोरोना संक्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली पनि बन्द भएको छ । 

कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको छ । वित्तीय संस्थाहरु सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, मेघा बैंक र राष्ट्रिय सहकारी बैंक पनि बन्द भएका छन् ।


प्रतिक्रिया