भीरकोटमा गर्भवती लक्षित मेडिक मोबाइल प्रविधि

वैशाख ५, २०७८ | स्याङ्जा

सुन्दा पनि अच्चम लाग्छ । अपत्यारिलो जस्तै । स्वयंसेविकाको मोबाइलमा गर्भवतीको अवस्थाबारे म्यासेज आउने । मोबाइलबाट नै गर्भवती महिलाको अवस्था जाँच गर्न सकिन्छ ? तर, स्याङ्जाको भीरकोट नगरपालिकाले यो कुरा यर्थाथमा परिणत गरेको छ । 

भीरकोट नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा प्रत्येक गर्भवतीको अवस्थाको बारे म्यासेज आउने गर्छ । गर्भवती भएको ४, ६, ८ र ९ महिनामा म्यासेज आउने भीरकोट नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो । 

‘गर्भवतीको प्रसूति हुने अनुमानित मिति आयो भने, नमस्ते पहिलो गर्भ जाँचको लागि स्वास्थ्य संस्थामा जान सम्झाउनु होला, भनेर स्वयंसेविकाको मोबाइलमा म्यासेज जान्छ’ खनालले भन्नुभयो, ‘त्यसपछि हामीलाई भेटेकोमा धन्यवाद भनेर अर्को म्यासेज जान्छ ।’ 

यस्ता प्रकृतिका म्यासेजको आधारमा महिलाको महिनावारी रोकिएदेखि सुत्केरी हुने (प्रसूति हुने चेकजाँच) शिशुको स्वास्थ्य खतराजन्य अवस्था बारे म्यासेज पुग्ने उहाँले बताउनुभयो । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएर गुणस्तरीयता बढाउने अभियानमा लागेको भीरकोटले गर्भवतीलाई लक्षित गरी गत वर्षदेखि “मेडिक मोबाइल प्रविधि” सुरु गरेको हो । 

पालिकाभित्र रहेका स्वयंसेविका मार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको नगरप्रमुख खनालले बताउनुभयो । यस प्रविधिमा एकपटक गर्भवतीको नाम दर्ता भइसकेपछि स्वास्थ्य संस्था नगए तुरुन्त म्यासेज आउँछ । 

दुई पटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नआए तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई पठाउने व्यवस्था छ । जसले गर्भवती भएर पनि स्वास्थ्य संस्थामा नजाने महिलालाई फलोअप गर्न स्वयंसेविकालाई पनि सहज हुन्छ । 

प्रविधि मार्फत गर्भवती महिला नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेकजाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेखनीय सुधार आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले ५२ जना स्वयंसेविकालाई सिमसहित मोबाइल फोन उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो । स्वयंसेविकाद्वारा प्रत्येक टोलटोलमा आमा समूह मार्फत यो अभियानलाई निरन्तरता दिएको नगरप्रमुख खनालले बताउनुभयो । 

उहाँका अनुसार हरेक महिना स्वयंसेविकालाई खाजा खर्च १५ सय र मोबाइल खर्च ५ सय रुपैयाँ दिने गरिएको छ । गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ सेवा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको खनालले बताउनुभयो । प्रविधिको भरपुर उपयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप मेडिक मोबाइल प्रविधिको सुरुवातसँगै पेपललेस बनाउने लक्ष्य रहेको उहाँको भनाई छ । 

यस प्रविधिको माध्यमबाट मातृ तथा शिशु मृत्युदर शुन्य तहमा पुर्‍याउन सकिने र सुरक्षित मातृत्वको लागि तथ्यांकको व्यवस्थापन र अभिलेखन पनि तथ्यपरक बन्ने उहाँले बताउनुभयो । गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको स्याहार सुसार र स्वास्थ्य जाँचलाई मोबाइलको सहायताबाट प्रभावकारी हुने नगरपालिकाले जनाएको छ ।

गर्भवती महिलालाई अण्डा

भीरकोट नगरपालिकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलालाई अण्डा वितरण गर्ने गरेको छ । नगरप्रमुख छायाराम खनालका अनुसार गत वर्षदेखि यो कार्यक्रम संचालनमा ल्याइएको हो । तीन महिना पुगेर चौंथो महिना लाग्दा पहिलो गर्भ जाँच गर्न आउने महिलालाई पहिलो पटक ३१ वटा अण्डा दिएर पठाउने गरेको उहाँले बताउनुभयो । 

यसैगरी हरेक महिना गर्भ जाँच गराउने र सुत्केरी भएको एक महिनासम्म पनि अण्डा दिने गरेको उहाँको भनाई छ । प्रत्येक महिनामा गर्भ जाँच गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो अभियान चलाइएको हो । नगरप्रमुख खनालले गर्भमा भएको शिशु र आमाको पौष्टिक आहारमा ख्याल गर्दै अण्डा दिएको बताउनुभयो । यो अभियान चलाएपछि बच्चाको तौलमा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनुभयो ।

चालू आर्थिक वर्षमा नगरपालिकाले ३ सय महिलालाई अण्डा वितरण गरेको छ । नगरपालिकाका अनुसार यसवर्ष ४ सय महिलालाई अण्डा वितरण गर्ने कार्यक्रम छ । यसैगरी नगरपालिकाले आमाको माया कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । बच्चा जन्मिसकेपछि खोपका विधि र समय तालिका बारे जानकारी दिन यो कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ ।


प्रतिक्रिया