वीपी प्रतिष्ठानका लेखा प्रमुखलाई पदमुक्त गर्न 'जेआर'को माग

वीपी प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझी विरुद्ध उजुरी दिन इलाका प्रहरी कार्यालयमा पुगेका चिकित्सकहरु । तस्बिर : प्रदीप मेन्याङ्बो/ रेडियो कान्तिपुर । 

श्रावण ४, २०७८ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले कोभिड अस्पताल बाहेकका सेवा बहिष्कार गरेका छन् । आइतबार राति कार्डियोलोजीमा डीएमएमडी अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थी डा.विप्लव कार्कीलाई लेखा प्रमुख कमल रायमाझीले मापसे गरेर गाली गलौज गरेपछि त्यसको विरोधमा सोसाइटीले इमरजेन्सी र कोभिड अस्पताल बाहेकका सेवा बहिष्कार गरेका हुन् । 

रायमाझीले मदिरा सेवन गरी आफू र परिवारलाई प्रतिष्ठानको क्वाटर तत्काल खाली गर्न गाली र धम्की दिएको भन्दै डा.कार्कीले इलाका प्रहरी कार्यालयमा लिखित उजुरी समेत दिएका छन् । लेखा प्रम्ुख रायामाझीले आफू ‘भीसी ज्ञानेन्द्र गिरिको नकिजको मान्छे हुँ । तैले तुरुन्त क्वाटर नछाडे तेरो व्यबस्था गर्छु’ भनेर धम्की दिएको डा. कार्कीको आरोप छ । 

रायमाझीको धम्कीपछि राति नै चिकित्सकहरुले रायमाझीको घर घेराउ गरेका थिए । प्रहरी आइपुगदा उनी फरार भइसकेका थिए । रायमाझीले चिकित्सकमाथि दुव्र्यवहार गरेको र प्रतिष्ठान शुद्धीकरण अभियानमा लागेका चिकित्सकलाई धम्क्याउन थालेको भन्दै सोमबार दिउँसो विभिन्न फ्याकल्टी, जुनियर वेल्फेयर सोसाइटीमा आवद्ध चिकित्सकले इलाका प्रहरी कार्यालयमा पुगेर कारबाहीको माग गरेका छन् । 

रायमाझीलाई आन्तरिक कारबाही स्वरुप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि उनीहरुे माग गरेका छन् । उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरिका विश्वास पात्र मानिएका रायमाझी १० महिना अघि मात्र अस्पताल प्रशासन शाखाको अधिकृत पदबाट लेखा प्रमुख भएका थिए ।

सोसाइटीका उपाध्यक्ष पदम नेपालीले भन्नुभयो, ‘प्रतिष्ठानका माथिल्लो पोस्टका लेखा प्रमुख जस्ता जिम्मेवार व्यक्तिले आफ्नै संस्थाका डीएम कार्डियोलोजीमा अध्ययरत चिकित्सक माथि नै दुव्र्यवहार गरेकाले कानूनी कारवाहीको भागिदार बनाउँदै यस्ता गैर जिम्मेवार कर्मचारीलाई बर्खास्त गर्न माग गरेका छौं ।’ 

प्रतिष्ठान व्यवस्थापन पक्षले रायमाझीलाई जिम्मेवारी मुक्त नगरेसम्म सम्पूर्ण जुनियर रेजिडेन्टले इमरजेन्सी र कोभिड अस्पताल बाहेकको उपचार सेवामा सहभागी नहुने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानमा जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीमा आवद्ध चिकित्सक ३ सय जना छन् । 

सोसाइटीले कयौं विद्यार्थी, चिकित्सक, सिनियर रेजिडेन्ट, कर्मचारीले आवास नपाइरहेको अवस्थामा एउटै व्यक्तिलाई दुई वटा आवास दिने चिठ्ठी के कारणले काटिएको हो ? यस बारेमा पनि चित्त बुझ्दो जवाफ दिन आवास समिति र प्रतिष्ठान प्रशासनलाई सोसाइटीले माग गरेको छ ।

रायमाझीले प्रतिष्ठान भित्रै रहेको आवास गृह एक्लै प्रयोग गर्दै आएका छन् । थप अर्को पनि आवास गृह प्रयोग गर्ने उद्देश्यले रायमाझीले डीएमएमडी विद्यार्थी कार्कीले पाएको आवास खाली गर्न खोजेका थिए । 

प्रतिष्ठानमा कार्यरत प्रोफेशर तहका कैयौ चिकित्सकले समेत उचित आवास नपाई रहेको बेला लेखा प्रमु्खलाई किन दुई आवास आवश्यक परेको हो ? त्यस्को कारण भने खुलेको छैन । पछिल्लो विवाद बारे रायमाझीसँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरेकाले सम्पर्क हुन सकेन ।


प्रतिक्रिया