जापानबाट थप ३ लाख डोज खोप आईपुग्यो

श्रावण २४, २०७८ | काठमाडौं

जापानले कोभ्याक्स परियोजना मार्फत नेपाललाई उपलब्ध गराएको मध्ये थप ३ लाख डोज खोप आज नेपाल भित्रिएको छ । अष्ट्राजेनेका कम्पनीको खोप आज कतार एयरलान्यसको विमानबाट नेपाल ल्याइएको हो । यसअघि हिजो ५ लाख डोज खोप आईपुगेको थियो । जापानले उपलब्ध गराउने प्रतिवद्धता जनाएको १६ लाख डोज खोप मध्ये पहिलो चरणमा हिजो र आज गरी ८ लाख डोज खोप नेपाल ल्याइएको हो । बाँकी ८ लाख डोज खोप केही दिनमा ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

भारतबाट ल्याइएको सोही फर्मुलाको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई भोलिबाटै दोश्रो डोज लगाउने मन्त्रालयले जनाएको छ । गत फागुनमा कोभिसिल्ड खोपको पहिलो डोज लगाएपनि भारतले थप खोप उपलब्ध नगराएपछि ६५ वर्ष उमेर समूहमाथिका करीब १४ लाख जनाले दोश्रो डोजको खोप लगाउन पाएका थिएनन् । सो समूहका लागि सरकारले भोलिदेखि २९ गतेसम्म कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दैछ । 


प्रतिक्रिया