मेसुमाथि दुर्व्यवहारविरुद्ध तुलसीपुरका स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी । तस्बिर : रेडियो कान्तिपुर । 

भाद्र १३, २०७८ | दाङ

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । 

डा.सिंहमाथि दुर्व्यवहार गर्ने समूहलाई २४ घण्टा भित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेपनि दुई दिन बितिसक्दा समेत पक्राउ गर्न नसकेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । उनीहरुले आइतबार तुलसीपुरमा विरोध र्‍याली निकालेका छन् । 

राप्ती प्रादेशिक अस्पतालबाट सुरु भएको विरोध र्‍यालीले तुलसीपुर बजारको परिक्रमा गरेको थियो । शुक्रबार दिउँसो युवाहरुको एक समूहले डा. सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको थियो । स्वास्थ्यकर्मी अस्पतालको आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमरजेन्सी सेवा बाहेक सबै सेवा ठप्प पारेर आन्दोलित भएका छन् । 

यसैगरी, चिकित्सक संघ दाङले पनि सो घटनाको विरोधमा आइतबारदेखि ईमर्जेन्सी बाहेकका सेवा बन्द गर्न सबै चिकित्सकहरुलाई आह्वान गरेको छ । 

एमाले निकट अनेरास्ववियूका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्री लगायतको टोली घटनामा संलग्न रहेको अस्पतालको आरोप छ । घटनामा संलग्न रहेको भन्दै एमाले जिल्ला कमिटीले उनीहरुलाई पदबाट हटाएको छ ।


प्रतिक्रिया