चिकित्सकलाई मोसो दलेको अभियोगमा ३ जना पक्राउ

राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी । तस्बिर : रेडियो कान्तिपुर । 

भाद्र १५, २०७८ | दाङ

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । डा. सिंहलाई मोसो लगाउने काममा संलग्न सर्जन परियार, दिवस क्षेत्री र दिलिप डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

क्षेत्री र डाँगीलाई सोमबार तथा परियारलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा. सिंहमाथि दुर्व्यवहार गरेको घटनाको विरोधमा आन्दोलित भएका स्वास्थ्यकर्मी बुधबारदेखि काममा फर्कने भएका छन् । 

दोषीलाई पक्राउ परी कानूनी प्रक्रिया अघि बढेको आधिकारिक जानकारी प्राप्त भएकाले बुधबारदेखि आन्दोलन स्थगत गरी काममा फर्कने निर्णय भएको राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष पदमप्रसाद न्यौपानेले बताउनुभयो । 

डा. सिंहलाई युवाहरुको एक समूहले शुक्रबार दिउँसो कार्यकक्षमै मोसो दलेका थिए । सो घटनाको विरोधमा जिल्लाभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आइतबारदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । 

पक्राउ परेकाविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दर्ता गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । 

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्र्यवहार भएपछि ५ वर्षसम्मको कैद सजाय हुने गरी अध्यादेश ल्याइएको थियो । घटनाका मुख्य तीन अभियुक्त पक्राउ परिसकेको र अन्य तीन जनाको खोजी भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो ।


प्रतिक्रिया