प्रतिमान–नीमाद्वारा लुम्बिनीलाई २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

आश्विन ४, २०७८ | तिलोत्तमा

लुम्बिनी प्रदेश सरकारलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले दुई करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा, कार्यकारी निर्देशक स्वाती थापा, निर्देशक धर्म बहादुर केसीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई सो सामग्री हस्तान्तरण गरेको हो । 

पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको बुवा स्व. प्रतिमानचन्द बोहरा र आमा स्व. नीमा बोहराको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा अस्पताललाई साढे २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिसकेको कार्यकारी निर्देशक स्वाती थापाले बताउनुभयो । 

प्रतिष्ठानले सात वटै प्रदेशका मुख्यमन्त्री मार्फत स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराको पहलमा अमेरिकास्थित प्रोजेक्ट होपबाट प्राप्त सामग्री प्रदान गरिएको थापाले जानकारी दिनुभयो । 

खोपका लागि पनि प्रतिष्ठानले पहल गर्दै आएको र खोप अभियान लुम्बिनी प्रदेशबाटै सुरु गर्ने तयारी भईरहेको उहाँको भनाइ छ । सामग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री केसीले संकटको बेला प्रतिमान–नीमा स्मृति प्रतिष्ठान प्रदेश सरकारको सारथि बनेको बताउनुभयो । 

प्रदेश सरकारले प्रतिष्ठानसँग सहकार्य गर्ने भन्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता राखेको सुनाउनुभयो । योसँगै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सातवटै प्रदेशलाई गरी साढे १० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


प्रतिक्रिया