कुपोषण पहिचान गर्न नेपालगञ्जमा अभियान सञ्चालन

कार्तिक १४, २०७८ | नेपालगञ्ज

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले बालबालिकाको कुपोषणको पहिचान गर्न अभियान थालेको छ । ६ देखि ५९ महिनाको बालबालिकाको पोषण अवस्थाका बारेमा लेखाजोखा राख्न पाखुराको नाप लिंदै कुपोषण भए/नभएको अवस्था पहिचानका लागि अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो । 

शुक्रबारदेखि सुरु भएको कुपोषण जाँचमा मुवाक (पाखुराको मध्यबिन्दुको परिधि नापेर ) टेपको सहायताले बालबालिकाको पाखुराको नाप गरिन्छ । मुवाक टेपमा हुने ३ वटा रङ्गको सहायताबाट कुपोषण भए/नभएको बारे पत्ता लाग्ने जनस्वास्थ्य निरीक्षक बस्नेतले बताउनुभयो । 

‘पाखुरा नाप्दा मुवाक टेपमा भएको हरियो रङ्ग देखिएमा बच्चा स्वास्थ्य, पहेलो रङ्ग देखिएमा कुपोषणको परामर्श आवश्यक रहेको जनाउने र रातो भएमा कुपोषणको हाइ रिक्समा भन्ने जनाउछ,’ उहाँले भन्नुभयो, ‘उपमहानगरको सवालमा मधेशी समुदायको बाहुल्यता रहेको गाबिसबाट वडामा जोडिएका वडामा कुपोषण देखिएको आकंलन गरेका छौँ ।’ 

स्वास्थ्य स्वयमसेविका परिचालन गरी उपमहानगरका सबै वडाका घर–घरमा गएर सुरु गरिएको अभियानबाट कुपोषणको दर पत्ता लगाइने उपमहानगरपालिकाले जनाएको छ । बालबालिकालाई कुपोषण देखिएमा नेपालगञ्जको कारकाँदो स्वास्थ्य चौकी र जयसपुर स्वास्थ्य चौकीमा उपचारको व्यवस्था मिलाइएको जनस्वास्थ्य निरीक्षक बस्नेतले जानकारी दिनुभयो । 


प्रतिक्रिया