भैरहवाको भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कार्तिक १४, २०७८ | तिलोत्तमा

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा २ करोड ६० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना भएको छ । दैनिक दुई सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता सहितको प्लान्ट स्थापना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

भण्डारीले भीम अस्पताललाई जिल्लाकै नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित काम भइरहेको बताउनुभयो । अस्पतालमा १७ करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रसूति गृह, बिरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालय सहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष भण्डारीले जनशक्ति, स्रोतसाधन र भौतिक संरचनाको अभाव रहेकोले यसलाई व्यवस्थित गर्दै अगाडि बढेको बताउनुभयो । अक्सिजन प्लान्ट सञ्चालनसँगै अस्पतालमा अक्सिजन अभावको समस्या समाधान हुनुका साथै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्ला बाहिर पठाउनुपर्ने समस्या टर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले बताउनुभयो । 

अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै डा. गुप्ताले अतिआवश्यक पर्ने समयमा यो प्लान्टले राहत महसुस गराउने बताउनुभयो । ‘कोरोना महामारीमा बिरामीको अवस्था देख्दा पीडा हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘रोग जुनबेला पनि महामारी भई फैलन सक्ने भएकाले पूर्वतयारी जरुरी छ ।’ 

पीडी इन्जिनियरिङ प्रालिको प्राविधिक संयोजन, टर्कीमा निर्मित प्लान्टले उत्पादित अक्सिजन सीधै बिरामीको बेडसम्म पाइप लाइनमार्फत र सिलिन्डरमा भरेर भण्डारण गर्न पनि सकिने प्रालिका प्रबन्ध निर्देशक धर्म पौडेलले बताउनुभयो । 

सन् १९९० सालमा १५ शय्याबाट सुरु भएको सो अस्पताललाई हाल ५० शय्यामा बिस्तार गरिएको छ । सो प्लान्टले अक्सिजनको दैनिक माग पूरा गर्नुका साथै महामारीको समयमा अक्सिजनको माग बढेको समयमा ठूलो काम गर्ने अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले भनाई थियो । 


प्रतिक्रिया