विद्यालयमै गएर विद्यार्थीलाई कोरोना संक्रमण विरुद्धको खोप लगाइने

मंसिर ८, २०७८

सरकारले विद्यालयमै गएर बालबालिकालाई कोरोना संक्रमण विरुद्धको खोप दिने तयारी गरेको छ । १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीलाई विद्यालयमै गएर खोप लगाउने तयारी भएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनुभयो । विद्यालयमा खोप लगाउनका लागि आवश्यक व्यवस्थापन बारे स्वास्थ्य मन्त्रालयसँग समन्वयन भईरहेको शिक्षा मन्त्री पौडेलले बताउनुभयो । हालसम्म तोकिएका उमेर समुहका व्यक्तिले तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनपर्ने व्यवस्था सरकारले गरेको छ ।

सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर आगामी डिसेम्बर अन्त्यसम्म ६० लाख फाइजर तथा ४० लाख मोर्डेना खोप ल्याउँदै छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स सुबिधा मार्फत सहुलियत दरमा सो खोप खरिद गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ देखी १७ वर्ष उमेर समुहका बालबालिका तथा किशोरकिशोरीको संख्या करिव ३५ लाख छ ।

यसैविच, काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा आज एस्ट्राजेनेकाको दोस्रो तथा भेरोसेलको पहिलो मात्राको खोप लगाईँदैछ । काठमाडौं उपत्यकाका विभिन्न ४ स्थानबाट समेत सहज रुपमा खोप लगाउन पाउने व्यवस्था सरकारले गरेको छ । जसअन्तर्गत बल्खुस्थित बयोधा अस्पताल, कोटेश्वरस्थित जडीबुटी प्रशोधन केन्द्र, गंगबुस्थित नयाँ बसपार्क भित्र तथा कलंकी चोकमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया