अतिरिक्त खोप किन स्थगित भयो ?

पुस २१, २०७८

सरकारले सबै नागरिकलाई कोभिड १९ विरुद्ध खोपको मात्रा चाँडै उपलब्ध गराउनु पर्ने भएकाले केही लक्षित वर्गका लागि अतिरिक्त मात्रा दिने कार्यक्रम स्थगित गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा संगिता कौशल मिश्राले सबैलाई खोप पुर्‍याउनका लागि अतिरिक्त खोप अभियान स्थगित गरेको जानकारी दिनुभयो ।

थप प्रविधिक विषयमा छलफल तथा तयारी गरी आगामी माघ महिनामा जानकारी गराउने उहाँको भनाई थियो । ओमिक्रोन भेरियन्टका कारण जोखिमपूर्ण अवस्था सिर्जना हुन नदिन सरकारले रोकथामका लागि तयारी थालिसकेको प्रवक्ता मिश्राले बताउनुभयो । उहाँका अनुसार खोपको उपलब्धता सुनिश्चित गर्ने, सीमा नाकामा कोभिड १९ को जाँचमा वृद्धि गर्न, क्वारेन्टिनको व्यवस्था गर्न, अक्सिजन, आइसीयु र भेन्टिलेटर, बेड तथा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न र अन्य पूर्व तयारीका लागि सरकार प्रयासरत रहेको छ । उहाँले नयाँ भेरियन्ट पहिचानका लागि जिन सिक्वेन्सिङ गरीरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया