नेपालमा डेंगुका बिरामीको संख्या १५ हजार नाघ्यो

आश्विन ३, २०७९

पछिल्लो पटक नेपालमा डेंगुका बिरामीको संख्या १५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार १५ हजार ४ सय २३ जनामा डेंगु रोग फेला परेको छ । ती मध्ये सबै भन्दा बढी बागमतीमा ११ हजार ८ सय ३५ जनामा सो रोग फेला परेको महाशाखाको किटजन्य रोग प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा १ हजार ९ सय ९४ जनामा डेंगु देखिएको महाशाखाको तथ्यांकमा उल्लेख छ । 

मूलुकका विभिन्न १० वटा जिल्लामा सबै भन्दा बढी डेंगु संक्रमण फेला परेको छ । ती मध्ये काठमाण्डौंमा सबैभन्दा धेरै ४ हजार ४ सय ३३ जनामा डेंगु भेटिएको छ । त्यस्तै ललितपुरमा ४ हजार ३ सय १२ जनामा सो संक्रमण भेटिएको छ । यस्तै अन्य जिल्लाहरु मकवानपुर, दाङ, रुपन्देही, भक्तपुर, चितवन, धादिङ, काभ्रेपलाञ्चोक र दार्चुला रहेका छन् । गत जेठ यता बढ्न थालेको डेंगुका कारण हालसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि सन् २०१९ मा फैलिउको डेंगुका कारण १७ हजार बढी संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

डेंगु नियन्त्रण र रोकथामका लागि सरकारले विभिन्न कदम चालेपनि प्रभावकारी हुन सकेको छैन । दिनहुँ डेंगु रोगीको संख्या बढ्दो छ । डेंगु परीक्षणमा समेत एकरुपता नहुँदा सर्वसाधारणले अस्पताल पिच्छे नै फरक फरक शुल्क तिर्नु परेको छ । सरकारले डेंगु परीक्षण शुल्कमा एकरुपता कायम गर्ने भने पनि कार्यान्वयन भने गर्न सकेको छैन । 


प्रतिक्रिया