निःशुल्क अक्सिजन सुविधा दिन कनकाईमा अक्सिजन प्लान्ट स्थापना

पुस १८, २०७९ | बिर्तामोड

झापाको कनकाई नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । नगरवासीलाई निःशुल्क अक्सिजन सुविधा प्रदान गर्न नगरपालिकाले सुरुङ्गास्थित नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी सोमबारबाट सञ्चालनमा ल्याएको हो । 

कोभिड लगायत महामारीमा नगरवासीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले लगत्तै अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया सुरु गरेको थियो । स्थानीय दाता समेतको सहयोगमा दैनिक एक सय ६० वटा सिलिण्डर उत्पादन गर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्लान्ट सञ्चालनमा आएपछि नगरपालिकाले नगरवासीलाई निःशुल्क अक्सिजन सेवा दिने निर्णय गरेको छ । ‘अब हाम्रो नगरभित्र कसैलाई पनि अक्सिजनको अभाव हुनेछैन’, पोखरेलले भन्नुभयो, ‘जसलाई जति आवश्यक पर्छ उहाँहरुले निःशुल्क सुविधा लिन सक्नुहुन्छ ।’

प्लान्ट स्थापना गर्न एक करोड ६६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपानेले जानकारी दिनुभयो । जसमध्ये ५८ लाख ४३ हजार ४ सय १३ रुपैयाँ दाताबाट सहयोग जुटेको थियो । त्यसमा नगर प्रमुख पोखरेलले अघिल्लो कार्यकालको आफ्नो पारिश्रमिक मध्येको १० लाख रुपैयाँ प्लान्ट स्थापनामा सहयोग गरेको अधिकृत न्यौपानेले बताउनुभयो । 

प्लान्ट स्थापनामा पोखरेलसहित एक सय १७ जनाले नगद सहयोग गर्नु भएको थियो । एक करोड ७ लाख ६३ हजार २ सय ९४ रुपैयाँ नगरपालिकाले खर्च गरेको न्यौपानेले बताउनुभयो । ४० एनएमक्यू क्षमताको सो प्लान्टबाट ९५ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुने इन्जिनियर प्रवल वाग्लेले जानकारी दिनुभयो । 

प्लान्ट कनकाई नगर अस्पताल परिसरमा स्थापना गरिएको छ । प्लान्टबाट नगर अस्पतालमा समेत अक्सिजन सुविधा पुग्नेगरी पाइप जडान गरिएको वाग्लेले बताउनुभयो । नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया २०७७/७८ बाट सुरु गरेको थियो । 


प्रतिक्रिया